०५ साउन २०८३, मंगलबार
न्यायाधीशहरूको कार्यसम्पादन

सर्वोच्चको मुद्दा फर्छ्यौटमा न्यायाधीश ढुंगाना प्रथम, प्रधानन्यायाधीश शर्मा १५औं स्थानमा

साउन ४, २०८३
काठमाडौं
सर्वोच्चको मुद्दा फर्छ्यौटमा न्यायाधीश ढुंगाना प्रथम, प्रधानन्यायाधीश शर्मा १५औं स्थानमा

सर्वोच्च अदालतमा आर्थिक वर्ष २०८२/८३ मा मुद्दा तथा निवेदन फर्छ्यौट गर्नेमध्ये न्यायाधीश टेकप्रसाद ढुंगाना पहिलो स्थानमा रहेका छन् । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भने मुद्दा फर्छ्यौटका आधारमा १५ औं स्थानमा परेका छन् ।

त्यसैगरी, निवर्तमान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सूचीको सबैभन्दा अन्तिम अर्थात् बीसौँ स्थानमा रहेका छन् ।

मुद्दा तथा निवेदन फर्छ्यौटमा पहिलो स्थानमा रहेका न्यायाधीश टेकप्रसाद ढुंगानाले २०५ कार्य दिनमा ९.४४ को दैनिक औसतले कुल १ हजार ९ सय ३६ थान मुद्दा फर्छ्यौट गरेका छन् ।

यसैगरी, दोस्रो स्थान हासिल गरेका न्यायाधीश श्रीकान्त पौडेलले २०२ कार्य दिनमा ८.४५ को औसतले कुल १ हजार ७ सय ७ थान मुद्दा किनारा लगाएका छन् ।

तेस्रो स्थानमा रहेका न्यायाधीश हरिप्रसाद फुयालले १९२ कार्य दिनमा ८.०६ को औसतले कुल १ हजार ५ सय ४८ थान मुद्दा फर्छ्यौट गरेका छन् ।

चौथो स्थानमा रहेका न्यायाधीश सुनिलकुमार पोखरेलले २०२ कार्य दिनमा ७.६४ को औसतले कुल १ हजार ५ सय ४४ थान र पाँचौं स्थानमा रहेका न्यायाधीश महेश शर्मा पौडेलले २०१ कार्य दिनमा ७.६२ को औसतले कुल १ हजार ५ सय ३२ थान मुद्दा फर्छ्यौट गरेका छन् ।

सूचीको छैटौं स्थानमा रहेका न्यायाधीश अब्दुल अजीज मुसलमानले १९३ कार्य दिनमा ७.३६ को औसतले कुल १ हजार ४ सय २० थान मुद्दा फर्छ्यौट गरेका छन् ।

सातौं स्थान प्राप्त गरेका न्यायाधीश मेघराज पोखरेलले १९५ कार्य दिनमा ७.२७ को औसतले कुल १ हजार ४ सय १७ थान मुद्दा फर्छ्यौट गर्दा आठौं  स्थानमा रहेकी न्यायाधीश शान्तिसिंह थापाले १७९ कार्य दिनमा ७.६१ को औसतले कुल १ हजार ३ सय ६२ थान मुद्दा फर्छ्यौट गरेकी छन् ।

नवौं स्थानमा रहेका न्यायाधीश कुमार रेग्मीले १७७ कार्य दिनमा ७.५८ को औसतले कुल १ हजार ३ सय ४२ थान र दशौं स्थानका न्यायाधीश नित्यानन्द पाण्डेयले २०१ कार्य दिनमा ६.५८ को औसतले कुल १ हजार ३ सय २२ थान मुद्दा फर्छ्यौट गरेका छन् ।

एघारौं स्थानमा रहेका न्यायाधीश बालकृष्ण ढकालले १८६ कार्य दिनमा ६.९९ को औसतले कुल १ हजार ३ सय थान मुद्दा फर्छ्यौट गरेका छन् ।

बाह्रौँ स्थानमा रहेका न्यायाधीश नृपध्वज निरौलाले १७१ कार्य दिनमा ७.२६ को औसतले कुल १ हजार २ सय ४१ थान मुद्दा फर्छ्यौट गर्दा तेह्रौँ स्थानमा रहेका न्यायाधीश डा. नहकुल सुवेदीले १७० कार्य दिनमा ६.७४ को औसतले कुल १ हजार १ सय ४६ थान मुद्दा फर्छ्यौट गरेका छन् ।

चौधौँ स्थानमा रहेकी न्यायाधीश शारङ्गा सुवेदीले १७० कार्य दिनमा ६.६२ को औसतले कुल १ हजार १ सय २५ थान मुद्दा फर्छ्यौट गरेकी छन् ।

यसैगरी, १५ औँ स्थानमा रहेका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले १८९ कार्य दिनमा ५.७९ को औसतले कुल १ हजार ९४ थान मुद्दा  फर्छ्यौट गरेका छन् ।

सोह्रौँ स्थानमा रहेका न्यायाधीश विनोद शर्माले १५९ कार्य दिनमा ६.६० को औसतले कुल १ हजार ४९ थान फर्छ्यौट गर्दा सत्रौँ स्थानका न्यायाधीश तिलप्रसाद श्रेष्ठले १३० कार्य दिनमा ८.०४ को औसतले कुल १ हजार ४५ थान मुद्दा फर्छ्यौट गरेका छन् ।  न्यायाधीश श्रेष्ठ पछिल्लो समय बिरामी भएका कारण स्वास्थ्य उपचारका क्रममा छन् ।

अठारौँ स्थानमा रहेकी न्यायाधीश सपना प्रधान मल्लले १२२ कार्य दिनमा ७.६६ को औसतले कुल ९ सय ३४ थान मुद्दा फर्छ्यौट गरेकी छन् ।  उनले केही महिना कायम मुकायम प्रधानन्यायाधीशको रूपमा पनि काम गरेकी थिइन् । प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माले पदभार ग्रहण गर्दा केही साता उनी बिदामा बसेकी थिइन् ।

उन्नाइसौँ स्थानमा रहेका न्यायाधीश डा. कुमार चुडालले ३४ कार्य दिनमा ९.५० को औसतले कुल ३ सय २३ थान मुद्दा फर्छ्यौट गर्दा बीसौँ स्थानमा रहेका निवर्तमान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले ५८ कार्य दिनमा ३.५३ को औसतले कुल २ सय ५ थान फर्छ्यौट गरेका छन् ।

सर्वोच्च अदालतका २० जना न्यायाधीशहरूले कुल ३ हजार ३ सय ३६ कार्य दिनमा २४ हजार ४ सय ९२ थान मुद्दा, रिट र निवेदनहरू फर्छ्यौट गरेका छन् ।

न्यायपालिकाको समग्र प्रगति: ७० प्रतिशतभन्दा बढी फर्छ्यौटसहित उच्च अदालत अग्रस्थानमा

न्यायपालिकाको २०८३ असार मसान्तसम्मको समग्र प्रगति विवरण अनुसार देशभरका सबै तहका अदालत र न्यायाधीकरणहरूमा कुल ३ लाख ५७ हजार २३ थान मुद्दाको लगत कायम रहेकोमा १ लाख ९५ हजार ४ सय ७४ थान मुद्दा फर्छ्यौट भएका छन् । यो कुल लगतको ५४.७५ प्रतिशत फर्छ्यौट प्रगति हो ।

त्यसमध्ये  सर्वोच्च अदालतमा कुल ३८ हजार ९ सय ३६ थान मुद्दाको लगत रहेकोमा ११ हजार ४ सय ६९ थान (२९.४६ प्रतिशत) फर्छ्यौट भई २७ हजार ४ सय ६७ थान मुद्दा बाँकी रहेका छन्, जसमा ५ वर्ष नाघेका मुद्दा मात्रै १ हजार २ सय ७६ थान रहेका छन् ।

उच्च अदालतहरूमा ६० हजार ५ सय ६४ थान लगत रहेकोमा ४२ हजार ६ सय १४ थान (७०.३६ प्रतिशत) फर्छ्यौट भई १७ हजार ९ सय ५० थान मुद्दा बाँकी छन्, जहाँ २ वर्ष नाघेका कुनै पनि मुद्दा बाँकी नरहेको प्रगति विवरणमा उल्लेख छ ।

यसैगरी, जिल्ला अदालतहरूमा कुल २ लाख ५१ हजार ७ सय ३४ थान लगतमध्ये १ लाख ३९ हजार १ सय ७९ थान (५५.६१ प्रतिशत) फर्छ्यौट भई १ लाख ११ हजार ७ सय ५५ थान बाँकी रहेका छन्, जसमा ७ हजार ६ सय ९१ थान मुद्दा २ वर्ष नाघेका छन् ।

न्यायाधीकरणहरूमा ५ हजार ७ सय ८९ थान लगत रहेकोमा २ हजार ४ सय १२ थान (४१.६७ प्रतिशत) फर्छ्यौट भई ३ हजार ३ सय ३७ थान मुद्दा फर्छ्यौट हुन बाँकी रहेका छन् ।

समग्र न्यायपालिकाको वार्षिक लक्ष्य २ लाख ४३ हजार ३ सय ५६ थान मुद्दा फर्छ्यौट गर्ने रहेकोमा जेठ/असारसम्मको प्रगति १ लाख ९६ हजार ३ सय ९० थान रहेको छ, जुन वार्षिक लक्ष्यको तुलनामा ८०.७० प्रतिशत प्रगति दर हो ।

salt training

कमेन्ट गर्नुहोस्