०१ असार २०८३, सोमबार

नेपाल–बङ्गलादेश सम्पर्क सञ्जाल थप बलियो बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

चैत १०, २०७७
नेपाल–बङ्गलादेश सम्पर्क सञ्जाल थप बलियो बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र बङ्गलादेशबीचको सम्पर्क सञ्जाल थप बलियो बनाउनुपर्नेमा जोड दिएकी छन्।

राष्ट्रपति भण्डारीले बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु सेख मुजिबुर रहमानको जन्मशताब्दी समारोह तथा बङ्गलादेश स्वतन्त्रताको स्वर्णजयन्ती समारोहलाई सोमबार ढाकामा सम्बोधन गर्दै भनिन्, “सम्पर्क सञ्जाल सुधार गर्न सकिन्छ, यसले यातायात र व्यापार लागत कम गराउँछ ।”

दुई देशबीच द्विपक्षीय व्यापार विस्तारको पर्याप्त सम्भावना औँल्याउँदै राष्ट्रपति भण्डारीले बढ्दो व्यापार घाटा न्यून गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्, “व्यापार अवरोधको उन्मूलन, पूर्वाधार विकास र सहज बजार पहुँचले व्यापारमा उल्लेख्य वृद्धि गर्न सक्छ ।”

उनले सहयोग आदानप्रदानको अर्को महत्वपूर्ण ऊर्जा क्षेत्र रहेकाले त्यसमा थप सहकार्यको आवश्यकतामा जोड दिइन् । नेपालको जलविद्युत् र बङ्गलादेशको प्राकृतिक ग्यासले दुवै देशको विकासको आवश्यकतालाई टेवा पु¥याउने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गरिन्। त्यसका लागि नेपाल, बङ्गलादेश र भारतबीच त्रिपक्षीय सहयोग सुदृढ तुल्याउनुपर्नेमा उनले जोड दिइन् ।

राष्ट्रपति भण्डारीले सम्पर्क सञ्जालको विस्तारका लागि विद्यमान काठमाडौँ–ढाका उडान थप गर्ने, बङ्गलादेशको सैयदपुर र नेपालको विराटनगर जस्ता   प्रमुख क्षेत्रीय सहरलाई उडानले जोड्न सकिने सम्भावना उल्लेख गरिन्। त्यस्तै उनका अनुसार नेपाल, भारत र बङ्लादेशको नदीमा जलमार्गको विस्तार गर्न सकिनेछ । सडकमार्ग स्तरोन्नति, रेल्वेको विकासले पनि सम्पर्क सञ्जालमा बल पु¥याउनेछ ।
 

रोहनपुर सिंहबाद रेल्वे रुटलाई ‘पोर्ट अफ कल’का रूपमा समावेश गर्ने प्रक्रिया अगाडि बढेकोमा राष्ट्रपति भण्डारीले खुसी व्यक्त गरिन् । उनले मानव संसाधन, इतिहास, सभ्यता र संस्कृतिमा दुवै देश धनी रहेकाले यी बहुमूल्य स्रोतको उपयोग गरी जनताको समृद्धि र खुसीमा रूपान्तरण गर्नुपर्ने सुझाइन् । आपसी सहयोग र समर्थनका माध्यमबाट बहुपक्षीय मञ्चमा साझा चासोका विषय प्रवद्र्धन गर्ने साझेदारीलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिइन् ।

पर्यटनमा साझेदारीलाई जोड दिँदै राष्ट्रपति भण्डारीले भनिन्, “बङ्गलादेशी पर्यटकले हिउँले ढाकेका पहाड, हरिया उपत्यका, समृद्ध जैविक विविधता, ऐतिहासिक पुरातात्विक र सांस्कृतिक स्थलहरूको भ्रमण गर्न सक्छन् । नेपाली पर्यटकले सुन्दर समुद्री तट र सांस्कृतिक स्थलको भ्रमण गर्न सक्छन् ।” जलवायु सङ्कटमा नेपाल र बङ्गलादेश दुवै रहेकाले मौसमी विपत्तिको सम्बोधन गर्न द्विपक्षीय सहयोग जरुरी रहेको उनले बताइन् ।

मङ्गलबार राष्ट्रपति भण्डारीले ढाकास्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै बङ्गलादेशमा रहेका नेपालीसँग भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीसँग सोमबारै बङ्गलादेशका प्रधानमन्त्री सेख हसिना वाजेदले शिष्टाचार भेट गरे । भेटका क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री वाजेद विश्वकै एक प्रेरणादायक नेता भएको भन्दै प्रशंसा गरिन्।

भेटपछि प्रधानमन्त्रीका प्रेस सचिव इहसानुल करिमले पत्रकार सम्मेलनमा दिनुभएको जानकारीअनुसार राष्ट्रिय विकासको कार्यमा महिला सहभागिताका लागि बङ्गलादेश ‘रोल मोडल’ हुनसक्ने राष्ट्रपति भण्डारीले औँल्याइन् । दुईपक्षीय सहयोगबारे नेपालले अर्थपूर्ण सहयोग चाहेको राष्ट्रपतिले उल्लेख गर्नुभयो । नेपाललाई बङ्गलादेशको बन्दरगाह र सैयदपुर विमानस्थल प्रयोग गर्न दिएकोमा उनले सराहना गरिन्।

राष्ट्रपति भण्डारीले बिम्स्टेक सदस्यराष्ट्रबीच सम्पर्क बढाउनुपर्नेमा जोड दिँदै प्राकृतिक प्रकोपको सवालमा सहयोग आदानप्रदान गर्न सकिने सुझाइन् ।

उनले नेपालीमा अनुवाद भएको ‘अधुरो स्मरणहरू’ र ‘बङ्गबन्धुको जेल डायरी’ गरी दुई पुस्तक प्रधानमन्त्री वाजेदलाई प्रदान गरिन् । प्रधानमन्त्री वाजेदले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामका समयमा नेपालले गरेको सहयोगको स्मरण गर्दै धन्यवाद प्रकट गरे।

चटगाउँ र मोङ्ला बन्दरगाहसहित मुख्य विमानस्थल प्रयोगका लागि खुला रहेको जानकारी उनले दिए। साथै व्यापार वाणिज्यको क्षेत्रमा आपसी सहयोग र दुई देशबीच सम्भावित व्यापार सम्झौतामा हस्ताक्षर गर्नुपर्नेमा उनले जोड दिए। वाजेदले भने, “पीटीए भए दुवै देशलाई फाइदा हुन्छ । ”

नेपाल, बङ्गलादेश र भारतको संयुक्त सहकार्यमा नेपालको जलस्रोतको उपयोग गरी जलविद्युत् केन्द्र स्थापना गर्न सकिने उनले औँल्याए ।

भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनलगायत दुवै देशका उच्च अधिकारी सहभागी थिए। त्यस्तै राष्ट्रपति भण्डारीसमक्ष विदेशमन्त्री मोमेनले पछि छुट्टै शिष्टाचार भेट गरेका थिए । बङ्गलादेशका राष्ट्रपतिका तर्फबाट आयोजित रात्रिभोजमा पनि राष्ट्रपति भण्डारीले सहभागिता जनाइन् ।

यसअघि ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई उनका बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदले स्वागत गरेका थिए । उनलाई राजकीय सम्मानस्वरूप २१ तोपको सलामीसहित सम्मानगारद प्रदान गरियो । त्यसपछि शहीद स्मृति पार्क पुगेर दुवै देशका राष्ट्रपतिले शहीदहरूप्रति श्रद्धासुमन प्रकट गरेका थिए।

राष्ट्रपति भण्डारी बङ्गलादेशी समकक्षी हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि सोमबार बिहान बङ्गलादेश प्रस्थान गरेकी हुन्। उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारका उच्च पदाधिकारीले हार्दिक बिदाइ गरेका थिए । गोरखापत्र दैनिककमा चाँदनी हमालले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्