
चीनको क्वाङ्चो शहर नजिक एक गाउँको सरकारी कार्यालयमा एक व्यक्तिले घरैमा बनाएको बम विस्फोट गर्दा चारजना मारिएको अधिकारीहरूले बताएका छन् ।
चीनमा यस्तो किसिमको हिंस्रक विरोध प्रदर्शन विरलै हुने गर्छ ।
विस्फोट गराउने ५९ वर्षीय व्यक्ति पनि मारिएको स्थानीय प्रहरीले आधिकारिक वीबो अकाउन्टमा जनाएको छ । विस्फोटमा परी पाँचजना घाइते भएको जानकारी पनि उसले दिएको छ ।
सोमवार बिहान मिङजिङ गाउँमा घटना भएको हो । त्यहाँ लगभग तीन हजार मानिस बस्छन् र स्थानीयहरूलाई अन्तै सारेर त्यहाँ जग्गा प्लटिङ गरी भवनहरू बनाउन खोजिएको छ ।
समाचार वेबसाइट जिएमियानको भिडियोमा कार्यालय भवन ध्वस्त भएको देखिन्छ । भित्ताहरूमा रगत पोतिएको र दुईजना मृत अवस्थामा भुइँमा लडेको देखिन्छ ।
गाउँ कमिटी कार्यालयमा विस्फोट भएको स्थानीय सञ्चारमाध्यमको भनाइ छ । उक्त कमिटीले जमीन उपयोगको मामिलामा निर्णय लिने गरेको छ ।
अधिकारीहरूले पोहोर साल २७० एकड जमीन शांघाईका एक घरजग्गा व्यवसायीहरूलाई दिएका थिए । गाउँमा पर्यटकहरूलाई आकर्षण गर्न परिवर्तन गर्न लागिएको क्वाङ्चो दैनिकले खबर दिएको छ ।
लगभग १.२ अर्ब डलरको यस परियोजनामा कृषकहरूलाई अन्यत्रै सार्ने योजना थियो । क्षतिपूर्तिको कुरा नमिलेकाले उक्त विस्फोट गराइएको स्थानीयहरूको दाबी छ ।