प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली संसद्लाई कामविहीन बनाउने प्रपञ्चमा लागेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले संसद् भंग गर्ने आफ्नो सनक सही थियो भन्ने सावित गर्न प्रधानमन्त्री ओलीले संसद्लाई बिजनेस नदिएको आरोप लगाए ।
'कहिले प्रश्न छल्न हठात बैठक स्थगित, कहिले पार्टीभित्रका विरोधी तह लगाउन संसद् भंग अनि अहिले प्रतिनिधि सभा भंग गर्ने सनक सही थियो भन्ने सावित गर्नका लागि संसद्लाई कामविहीन बनाउने प्रपञ्च,' गगनले भने, 'यो विधेयक अधिवेशन हो । हामी काम गर्न तयार छौं । एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानून बनाउन दिएन भनेर हल्ला गर्ने अनि संसदलाई एउटा कानून पनि नदिने ? विधेयकलाई कानून बनाउन चाहिने राष्ट्रिय सभाको अधिवेशन पनि नबोलाउने ?'
थापाले यो सरकार कायम रहेसम्म संसद्को अपमान कायमै रहने जिकिर पनि गरे ।
'हामी स्पष्ट छौं, सम्माननीय सभामुख महोदय जति दिन यो सरकार रहन्छ, संसद्को अपमान, तिरस्कार गर्ने काम अझै बढ्दै जान्छ, किनकी प्रधानमन्त्रीलाई यो संसद्सँग बदला लिनुछ,' गगनले भने, 'हामी हाम्रो ठाउँबाट डटेर संसद्को गरिमा कायम राख्नका निम्ति लड्नेछौं, बाँकी जिम्मा जनताको । यथोचित समयमा जनताले यसको हिसाबकिताब गर्नेछन् ।'
संसद्को अपमान जनताकै अपमान भएको तर्क पनि उनले पेश गरे ।
'यो संसद्को लोगो लगाउने केही थान सांसदको अपमान, तिरस्कार होइन सभामुख महोदय, यो ती जनताको अपमान हो, जसले यो संसद् बनाएको छ, जसले हामीलाई सांसद बनाएका छन् । यसको बदला जनताले यथोचित समयमा लिनेछन् । संसद् रहेसम्म यो संसद्को गरिमा जोगाउन हामी डटेर लड्नेछौं ।'