
नेकपा एमालेका सांसद खगराज अधिकारीले अविश्वासको प्रस्ताव ल्याउन डराएर प्रधानमन्त्रीलाई नैतिकताको पाठ सिकाएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष गरेका छन् ।
मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद अधिकारीले अविश्वासको प्रस्ताव ल्याउन डराएको भन्दै प्रचण्डप्रति कटाक्ष गरेका हुन् ।
माओवादी केन्द्रले नैतिकताको आधारमा ओलीले राजीनामा गर्नुपर्ने बताए पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
‘सम्माननीय सभामुख महोदय नैतिकता त गजबको छ, सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, प्रधानमन्त्रीलाई नैतिकताको पाठ सिकाउने ? अविश्वासको प्रस्ताव ल्याउने भनेर खेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?’ अधिकारीले भने ।
सांसद अधिकारीले कांग्रेस नेता गगन थापाको नामै नलिइ एमालेसँग सातो गएको दाबी गरे । ‘ठाउँठाउँमा गएर नेकपाको मलामी जाने कोही भएनन् भन्ने अनि एमालेदेखि सातो जगाउने । नैतिकता त गजबको छ,’ अधिकारीले भने ।
अधिकारीले चुनावमा जान खुट्टा कमाएको भन्दै विपक्षी दलहरूको आलोचना गरे ।
‘आफैं भत्ता बढाउन माग गर्ने अनि प्रधानमन्त्री समर्थकले भत्ता बढाउन माग गरे भन्ने, नैतिकता कसले कसलाई पढाउने ?’ अधिकारीले प्रश्न गरे ।
एमालेकै सांसद गंगा चौधरीले सरकारले राम्रो काम गर्दागर्दै हलो अड्काएर गोरु चुट्ने काम भएको आरोप लगाइन् । बिजनेश नपाएपछि प्रतिनिधि सभाको बैठक चैत्र १८ गतेसम्मको लागि स्थगित भएको छ ।