अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले रुसबाट जर्मनीसम्मको नोर्ड स्ट्रीम २ पाइपलाइन युरोपेली संघको आफ्नै हितविपरीत रहेको तथा यसले युक्रेनलाई अवमूल्यन गर्न सक्ने मंगलवार बताएका छन् ।
अमेरिकाले विरोध गरिरहेको भए पनि जर्मनीले पाइपलाइनको काम सक्नका लागि जोड दिइरहेको छ ।
जर्मनीका परराष्ट्रमन्त्री हाइको माससँग भेट्न लागेका ब्लिन्केनले भने, ‘राष्ट्रपति जो बाइडन यो पाइपलाइन युरोप, अमेरिका र युरोपेली संघकै सुरक्षा लक्ष्यको विपरीत छ ।’
उनले नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गसँगको भेटका क्रममा यो टिप्पणी गरेका हुन् ।
‘यसले युक्रेन, पोल्यान्ड र अन्य निकटका साथी र साझेदारको हितलाई अवमूल्यन गर्ने सम्भावना छ,’ ब्लिन्केनले बताए । नोर्ड स्ट्रीम २ परियोजनामा सहभागी हुने कम्पनीमाथि प्रतिबन्ध लगाउन वाशिङटनलाई एक अमेरिकी कानूनले बाध्य बनाउने पनि उनले बताए ।
नोर्ड स्ट्रीम २ ले पश्चिमी साझेदार युक्रेनलाई बाइपास गर्नेछ र ट्रान्जिट फीबाट वञ्चित गर्नेछ । यसले रुसमा युरोपको ऊर्जा निर्भरतालाई थप बढाउनेछ अनि अमेरिकाको एलएनजीसँग प्रतिस्पर्धा गर्नेछ ।
पाइपलाइन ९५ प्रतिशत बनिसकेको छ र सेप्टेम्बर महिनासम्ममा सकिने विश्लेषकहरूले बताएका छन् ।
रुसले नोर्ड स्ट्रीम २ मार्फत युरोपेली संघका मुलुकहरूलाई कमजोर बनाउन सक्ने डर अमेरिकाले लिएको छ ।