
जनगणनाको तयारीका लागि जाजरकोट सदरमुकाम खलंगामा कार्यालय स्थापना भएको छ ।
कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको काम समेत शुरू भएको छ ।
‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औं जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । तथ्यांक कार्यालय सुर्खेतबाट केही कर्मचारी खटाएर कार्यालय स्थापना गरिएको हो ।
जिल्लामा जनगणना २०७८ का लागि ३०४ जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाका लागि सुपरीवेक्षक र गणक परिचालन गरिने भएको हो । जम्मा ६४ सुपरीवेक्षक र २४० गणक परिचालन हुने जिल्ला जनगणना कार्यालय जाजरकोटका प्रमुख जनकबहादुर बोहराले जानकारी दिए ।
उनका अनुसार सुपरीवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन् । अहिले जनगणनाका लागि प्राविधिक तयारी भइरहेको छ । गणकले तथ्यांक संकलन गर्नुभन्दा पहिले सुपरीवेक्षकले घर सर्वेक्षण गर्नेछन् । सुपरीवेक्षकले विक्रम संवत् २०७८ वैशाख २५ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन् । गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्नेछन् ।
यस वर्ष जनगणनामा ८१ प्रश्नावली समावेश गरिने भएको छ । जनगणनामा आवश्यक पर्ने जनशक्ति करारमा लिइनेछ । यसका लागि अनलाइनमार्फत आवेदन दिन सकिने छ । करारमा लिने जनशक्ति केन्द्रले नै छनोट गर्ने भएको छ । यसअघि जिल्लाबाटै छनोट गरिने गरेको थियो ।
करारमा जनशक्ति लिनका लागि माघ ११ देखि चैत ११ गतेसम्म आवेदन दिने समय दिइएको छ । फागुन मसान्तसम्म अनलाइनमार्फत र अनलाइनमार्फत नभरेकाले यही चैत ५ देखि ११ गतेसम्म कार्यालयमा गएर आवेदन दिन सक्ने कार्यालय प्रमुख बोहराले जानकारी दिए ।