
गुल्मीको रेसुङ्गा नगरपालिका–९ का बाबुराम पाण्डेयले विगत १० वर्षदेखि तम्घासमा व्यावसायिक च्याउखेती गर्दै आएका छन् ।
उनी तम्घासमा च्याउखेतीको व्यावसायिक उत्पादन गर्ने पहिलो व्यक्ति हुन् । उनले अहिले व्यासायिकरूपमा च्याउ उत्पादन र बजारीकरणको काम गरिरहेका छन् ।
पाण्डेयले रेसुङ्गा–९ उपल्लो तम्घासमा रेसुङ्गा च्याउ उद्योगमार्फत २० लाख रुपैयाँको लगानी गरेर च्याउखेती गरेका छन् । अहिले पाण्डेयको फार्ममा च्याउ टिप्ने चटारो छ तर बजार अभावमा दैनिक सरदर ३ क्विन्टल उत्पादन हुने च्याउको व्यवस्थापन गर्न पाण्डेयलाई मुस्किल परिरहेको छ ।
‘बजारको निकै समस्या छ, उत्पादन गरेपनि सोचेजस्तो बिक्री भएको छैन,’ पाण्डेयले भने, ‘मोटरसाइकल खोजेर घरघरमा पुर्याउनुपर्छ ।’ बजारीकरणको समस्याकै बीच स्थानीय युवामा व्यावसायिक च्याउखेतीप्रतिको आकर्षण भने घटेको छैन ।
पाण्डेयले रेसुङ्गा–८ का रुपकलाल श्रेष्ठसँग पुष्पाञ्जली एग्रोफार्ममार्फत संयुक्तरूपमा छुट्टै च्याउखेती पनि गरिरहेका छन् । दुवै फार्ममा अस्थायी र नियमित गरेर १५ जनाले रोजगारी पाएका छन् । अहिले फार्ममा च्याउको बीउ राख्ने र बजारीकरणको काम भइरहेको छ ।
संयुक्त फार्मबाट वार्षिक २० देखि २५ लाख रुपैयाँसम्म च्याउको कारोबार भइरहेको छ । यस वर्षदेखि पाण्डेय र श्रेष्ठले करीब ३५ लाख रुपैयाँ लगानीमा सिताके च्याउको नयाँ व्यावसायिक उत्पादन शुरू गरेका छन् । उनीहरूले छुट्टै ब्लकमा गत वर्षदेखि कन्या च्याउको उत्पादन पनि गरिरहेका छन् । अहिले नयाँ जात र बजार मागका आधारमा ३ हजार ५०० मुढामा सिताके च्याउ उत्पादन थालेका छन् । अहिले नयाँ ब्लकमा सिताके जातको च्याउ राख्ने काम गरिरहेको र अबको ६ महिनापछिबाट उत्पादन दिन शुरू गर्ने श्रेष्ठको भनाइ छ । त्यसका साथै अहिले गरिरहेको व्यवसायलाई थप आधुनिकीकरणतर्फ लैजाने पनि श्रेष्ठले बताए ।
पछिल्लो समय जिल्लामा कृषिको क्षेत्रमा थुप्रै स्थानीय तहले नयाँ–नयाँ कार्यक्रम सञ्चालन गरेका छन् । त्यसैले पनि कृषिकर्ममा लाग्ने युवाको संख्या बढ्दै गएको छ भने उत्पादन पनि सोहीअनुसार भइरहेको छ । यद्यपि च्याउ किसानलाई बजारीकरणको मात्रै पिरलो छैन, सरकारले प्रदान गर्ने बेमौसमी अनुदानले पनि समस्या पुर्याएको छ ।
‘पहिलो कुरा त राज्यले अनुदान नै दिँदैन,’ पाण्डेयले भने, ‘दिए पनि च्याउको बेमौसम जेठ–असारमा दिन्छ, तर त्यो कीरा लाग्ने समय हो ।’ उनले राज्यका तर्फबाट च्याउखेतीका सम्बन्धमा ठोस नीति आए आफूहरूलाई थप उत्साह हुने बताए ।