०४ साउन २०८३, सोमबार

बिहारमा विधानसभा भवनभित्रै विधायकहरूमाथि कुटपिट (भिडियो)

चैत ११, २०७७
बिहारमा विधानसभा भवनभित्रै विधायकहरूमाथि कुटपिट (भिडियो)

भारतको बिहारमा राज्य प्रहरी बललाई थप अधिकार दिने विधेयकका विषयमा विवाद हुँदा मंगलवार विधानसभा भवनभित्रै विपक्षी दलका विधायकलाई प्रहरीले हातपात गरेको र घिसारेको छ । 

निहत्था विधायकहरूलाई विधानसभामा नै कुटपिट गरिएको र प्रहरी तथा स्थानीय गुण्डाहरूले हातपात गरेको विपक्षी दलका नेता तेजस्वी यादवले बताए । विधानसभामा प्रहरीलाई प्रवेश गर्न मुख्यमन्त्री नीतीश कुमार र उनको सरकारले दिएको आरोप पनि यादवले लगाए । 

राष्ट्रिय जनता दलका एक विधायकलाई स्ट्रेचरमा राखेर लगिएको तस्वीर पनि उनले सार्वजनिक गरे । 

‘मेरा क्रान्तिकारी विधायक सतीश दास गरीब परिवारका हुन् र उनी नीतीश कुमारको हुलहुज्जतको शिकार बने । उनलाई शिरमा चोट लागेको छ । यो तस्वीर त्यसको प्रमाण हो,’ तेजस्वीले हिन्दीमा ट्वीट गरे । 

विधायक अनिता देवीलाई सुरक्षाकर्मीले घिसारेको भिडियो राबडी देवीले ट्वीट गरिन् । 

बिहार स्पेसल आर्म्ड पुलिस बिल २०२१ को विरोध गर्दै महागठबन्धनका सदस्य विधायकहरूले खारेजीको माग गरेका छन् । मंगलवार मात्र सदनको कारवाही पाँचपटक स्थगित भएको थियो । 

‘यो भयानक ऐनले प्रहरीलाई निरपेक्ष अधिकार दिन्छ र यसले प्रहरीलाई नीतीशको निरंकुशतावादी राजनीतिको हतियार बनाउँछ । प्रहरी लगाएर विधायकहरूलाई कुटपिट गर्दै विधेयक पारित गरिएको छ,’ तेजस्वी यादवले बुधवार ट्वीट गरे । उनले विधानसभाभित्र भएको अस्तव्यस्तताको भिडियो पनि शेयर गरे । 

salt training

कमेन्ट गर्नुहोस्