
म्यान्मारमा सात वर्षकी एक बालिकालाई प्रहरीले गोली हानेर हत्या गरेको छ । फेब्रुअरी १ मा सेनाले कू गरेपछि लोकतन्त्रसमर्थकहरूलाई गरेको दमनकी उनी सबभन्दा कान्टी पीडित हुन् ।
ती बालिकाको नाम खिन म्यो चित थियो । उनको परिवारका सदस्यहरूका अनुसार, मान्डलेस्थित उनको घरमा प्रहरीले छापा मार्दा उनी आफ्ना पिता भएतिर दौडिएकी थिइन् र त्यही बेलामा प्रहरीले गोली हानेर उनको हत्या गरिदियो ।
कूको विरोध बढ्दै जाँदा म्यान्मारको सेनाले दमन चर्काएको छ ।
सेभ द चिल्ड्रेन नामक अधिकारवादी समूहले कूपछि २० भन्दा बढी बालबालिका मारिएको जनाएको छ ।
विरोधमा सहभागी १६४ जना मारिएको सेनाको भनाइ छ र असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सले कम्तीमा २६१ जनाको मृत्यु भएको जनाएको छ ।
मारिएकी बालिका खिनकी दिदीले बताएअनुसार, प्रहरी अधिकृतहरू मंगलवार अपराह्न टोलका सबै घरहरूमा खोजतलाश गरिरहेका थिए । अचानक उनीहरू हतियारको खोजीमा घरमा पसे अनि पक्राउ गर्न थाले ।
‘उनीहरूले लात हानेर ढोका खोले,’ २५ वर्षीया मे थु सुमायाले बताइन् । ‘ढोका खुलेपछि उनीहरूले बाबालाई घरमा अरू कोही छ भनी सोधे ।’
उहाँले कोही पनि छैन भनेपछि झूटो बोल्छस् भन्दै उनीहरू घरमा खोजी गर्न थाले, उनले बताइन् ।
त्यतिखेरै खिन म्यो चित दौडिँदै बाबाको काखमा बस्न आइन् । ‘अनि उनीहरूले उनलाई गोली हाने,’ मेले बताइन् ।
म्यान्मार मुस्लिम मिडियासँग कुरा गर्दै पिता यु माउङ को हाशनि बाइले ती बालिकाको अन्तिम शब्द दोहोर्याए, ‘सक्दिनँ, बाबा । साह्रै दुख्यो’ भनी छोरीले ।’
पछि छोरीलाई उपचारका लागि कारमा राखेर लग्दै गर्दा मृत्यु भएको उनले बताए । प्रहरीले उनका १९ वर्षीय छोरालाई पनि कुटपिट गर्दै पक्राउ गरेको थियो ।
सेनाले यस मृत्युका विषयमा टिप्पणी गरेको छैन ।
एक बयान जारी गरेर सेभ द चिल्ड्रेनले बालिकाको मृत्युबाट विचलित भएको जनाएको छ । त्यसको एक दिनअघि मान्डलेमै १४ वर्षीय एक बालकलाई गोली हानेर मारिएको बताइएको छ ।
बुधवार अधिकारीहरूले यांगोनको इनसाइन कारागारमा राखिएक करीब ६०० बन्दीलाई मुक्त गरेका छन् । तीमध्ये धेरैजसो विश्वविद्यालयका विद्यार्थी हुन् ।
थुनामुक्त हुनेमा एसोसिएटेड प्रेसका पत्रकार थाइन ज पनि थिए । उनी तथा अन्य सञ्चारकर्मीलाई फेब्रुअरीमा विरोधको कभर गर्दा पक्राउ गरिएको थियो ।