एकातर्फ महामारीको त्रास अर्कोतर्फ सार्वजनिक सवारीसाधनभित्र खुटासमेत राख्न नमिल्ने गरी भिडभाड। सर्वसाधारणले यही नियति भोग्दै आइरहेका छन्। त्यसबाट केही राहत महसुस गराउने अवसर बनिरहेको छ (राइडिङ सेयरिङ एप) पठाओ। तर सस्तोमा शुलभ सेवा प्रवाह गर्दै आइरहेको ‘पठाओ’का राइडरहरू भने ट्याक्सी चालक र ट्राफिकको निशानामा पर्ने गरेका छन्।
महँगो भाडा दरमा यात्रु चढाउन नपाएपछि ट्याक्सी चालकहरू पठाओका राइडरहरूमाथि खनिने गेरका हुन्। सोमबार राति गोंगबुमा ट्याक्सी चालकले एक पठाओ राइडरलाई कुटेका थिए। ट्राफिक प्रहरी र ट्याक्सी चालकको हेपाइपछि पठाओका राइडरहरूले मंगलबार र बुधबार सेवा ठप्प पारेका थिए। तर, पठाओ नेपालका संस्थापक आसिममान सिंह बस्न्यातले प्राविधिक समस्याका कारणले सेवा बन्द गरिएको बताए। उनले प्रहरी र ट्याक्सी व्यवसायीले राइडरहरूलाई दुःख दिने गरेको पनि बताए। उनले भने, ‘प्राविधिक तयारी र छलफलका कारणले गर्दा हामीले सेवा रोकेका हौं, तर सेवा ग्राहीको विश्वास र भरोसा भेटिन दिन्नौं, छिट्टै सञ्चालन हुन्छ।’
प्रहरीले पठाओ राइडरहरूले धेरै अफलाइन ट्रिप गरेको गुनासो आएपछि कारबाही गरिएको बताएको छ। ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारीले ट्राफिक प्रहरीले जारी गरेको नियम पठाओका राइडरहरूले पालना नगरेको आरोप लगाए। उनले नियम पालना गरेर हिड्ने कसैलाई पनि अवरोध नगरेको जानकारी दिए। उनले भने, ‘पठाओ वा अन्य सवारीको हकमा कुनै फरक नियम छैन, सडकमा सबैलाई बराबर नियम लागु हुन्छ, पठाओको ज्याकेट लगाएर मात्रै सवारी चलाउन पाइँदैन, सवारीचालक अनुमति र ब्लुबुक पनि साथमै हुनुपर्छ।’
उनका अनुसार पआठोको वैज्ञानिक भाडा दर तोकिए पनि मनपरी शुल्क असुलेको गुनासो आएपछि मंगलबार केहीलाई कारबाही गरिएको थियो। त्यसमध्ये कतिपयले भाडा बढी असुली गरेको, केहीले चालक अनुमतिपत्र र ब्लुबुक नबोकेको पाइएको थियो। ‘पठाओले दिएको सेवाप्रति हाम्रो अवरोध होइन, मात्रै ट्राफिक नियमको पालना गरौं भनिएको हो,’ प्रवक्ता अधिकारीले भने, ‘अहिले दैनिक ३ हजार सवारीसाधन कारबाहीमा परेका छन्, त्यसमा केही पठाओमा आवद्ध भएको सवारीसाधन पनि पर्छन्।’ उनले चालक अनुमतिपत्र नबोकेका राइडरहरूलाई कारबाही गरिने जानकारी दिए।