म्यान्मारको म्यान्डले सहरमा आफ्नै घरभित्र बाबुको काखमा रहेकी सात वर्षीया खिन म्यो – चिटलाई त्यहाँका सत्ताधारी सैनिकले मंगलबार दिउँसो गोली हानेपछि सिंगो म्यान्मारमा सन्नाटा छाएको छ । ती बालिका मारिएको खबर भुसको आगोसरी फैलिएसँगै बुधबार देशैभर ‘मौन हडताल’ सुरु भयो ।
कोही मानिस पनि घरबाट बाहिर निस्केनन्, सिंगो देश जनताविहीनझैं देखिएको छ । बीबीसीले म्यो–चिटकी दिदीलाई उद्धृत गरे अनुसार घरमा छापा मारेर सुरक्षा अधिकारीहरूले उनका बाबुलाई सोधखोज गरि रहेका थिए । त्यही बेला दौडेर बाबुको काखमा बस्न गएकी म्यो–चिटलाई उनीहरूले गोली हानेका थिए । म्यान्मारमा ५० दिनयता चलेको नागरिक अवज्ञा आन्दोलनमा समर्थन गर्दै आएका खेमराज पाण्डेले एउटै टोलमा बस्ने चिनारु बालिकालाई गोली हानेको खबर सुन्नासाथै आफू आहत भएको सुनाए । उनका अनुसार ती बालिकालाई गोली लागेपछि नजिकैको निजी अस्पतालमा लगिएको थियो। कान्तिपुरमा खबर छ ।