
बैंकिङ क्षेत्रमा ‘बिग मर्जर’को चर्चा चल्न थालेको २ वर्षभन्दा बढी भैसक्यो, तर यसले गति पाउन भने अझै सकेको छैन ।
‘क’ वर्गका दुई वाणिज्य बैंक ग्लोबल आईएमई र जनता बैंक लिमिटेड मिलेर ग्लोबल आईएमईकै नाममा कारोवार शुरू गरेको एक वर्ष भैसक्यो, तर यसबीचमा अन्य ठूला बैंकबीच मर्जरको सहमति जुट्न सकेको छैन ।
बैंकहरूले घोषित वा अघोषित रूपमा ‘पार्टनर’ खोजिरहे पनि सहमति जुट्न सकेको छैन ।
पछिल्लो समय हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको हल्ला चलिरहेको छ । मर्जरका लागि आन्तरिक तयारी भइरहेपनि यी दुई बैंकबीच पूर्ण सहमति भने भइसकेको छैन ।
इन्भेस्टमेन्ट बैंकको सञ्चालक समितिले मर्जर गर्ने निर्णय गरिसके पनि हिमालयन बैंकले बाँकी नै छ ।
सबैकुरा मिलेमा मर्जर गर्न दुवै तयार रहेको र अहिले छलफल जारी नै रहेको बैंकका सञ्चालकहरू बताउँछन् ।
....
बजारमा हिमालयन र इन्भेष्टमेन्ट बैंकको मात्र हैन नबिल बैंकले नेपाल क्रेडिट एण्ड कमर्स, नेपाल बंगलादेश बैंक, सिभिल बैंक आदिलाई आफूमा समाहित गर्न खोजेको हल्ला पनि बजारमा सुन्न पाइन्छ ।
शेयर बजारमा चलखेल गर्न कमजोर अवस्था भएका बैंकलाई नबिल बैंकसँग मर्जरमा जाँदैछ भनेर हल्ला चलाउने गरेको पनि पाइन्छ । कतिपय बैंकले मर्जरका लागि आन्तरिक तयारी नै नगरी ‘हल्ला’मात्रै गर्ने गरेको टिप्पणी हुने गरेको छ ।
यद्यपि लामो समय निजी क्षेत्रको अग्रणी बैंकका रूपमा रहेको नबिल बैंक हिमालयन र इन्भेस्टभेन्ट मिलेर अर्को ठूलो बैंक बनेको खण्डमा अन्य केही बैंकलाई आफूमा समाहित गर्ने तयारीमा भने लागेको बताइन्छ ।
नबिल बैंकले मर्जरका लागि विभिन्न बैंकसँग छलफल गरिरहेको स्रोतको दाबी छ । यद्यपि उसले औपचारिक रूपमा भने सञ्चालक समितिबाट मर्जरका लागि कुनै औपचारिक प्रक्रिया शुरू गरेको छैन ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले अनौपचारिक रूपमा बैंकले मर्जरका लागि ‘पार्टनर’ खोजिरहेको दाबी गरे ।
उनले भने, ‘हामीले अनौपचारिक रूपमा पार्टनर खोज्न थालेको २ वर्ष भइसकेको छ, तर पाइसकेका छैनौं ।’
मर्जरलाई उनले छोराछोरीको विवाहसँग जोडेर हेर्नुपर्ने बताए ।
‘छोरा या छोरीको विवाह गर्ने उमेर भयो भन्दैमा जो आयो उसैसँग विवाह गरिदिने कुरा हुँदैन’, उनले थपे, ‘हामीले सबैकुरा हेर्नुपर्ने हुन्छ, लक्षिन-सक्षिन, यताउता सबैकुरा हेरेर विवाह गरिदिनुपर्ने हुन्छ ।’
उनले राष्ट्र बैंकको मर्जर नीतिलाई सकारात्मक रूपमा लिएको भन्दै अहिले ‘पार्टनर’ खोजिरहेको सुनाए । उनले भने, ‘विवाह नै गर्दा त हामी बाजागाजासहित गर्छौं नि, हामीले औपचारिक रूपमा नै मर्ज गरेको जानकारी दिन्छौं ।’
बोर्डले मर्जर कमिटी नै नबनाएकाले मर्जरबारे कुनै औपचारिक तयारी नभएको उनले बताए ।
यता सानिमा बैंकले मर्जर कमिटी नै गठन गरी अगाडि बढेको छ । यद्यपि तत्कालै कुनै बैंकसँग मर्जरमा गइहाल्ने अवस्था भने देखिँदैन ।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष समेत रहेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहालले बैंकले नहडबडाइकन मर्जरको पहल गरिरहेको बताए ।
लोकान्तरसँग उनले भने, ‘जबरजस्ती गर्दा नतिजा आउँदैन, त्यसकारण हामी नहडबडाइकन अगाडि बढ्नुपर्ने हुन्छ ।’
उनले बैंकहरूले मर्जरको आवश्यकता महशुस गरिसकेकाले समय अनुकूल हुनेबित्तिकै मर्जरमा जाने उल्लेख गरे । दाहालले भने, ‘मर्जर भनेको विवाह जस्तै हो, हतारमा विवाह गरेर फुर्सदमा पछुताउने काम गर्दैनौं ।’
सीईओ दाहालले अहिले बैंकहरू आफैं मर्जरमा गइरहेको भन्दै राष्ट्र बैंकले मर्जरप्रति लिएको नीति सफल भइरहेको बताए ।
के भन्छन् विज्ञ ?
पूर्व बैंकर्स अनल राज भट्टराई अहिले ‘क’ वर्गका बैंकहरूबीचको मर्जरले त्यति राम्रो आकार नलिएको बताउँछन् । उनले ३२ वटा ‘क’ वर्गका बैंक २७ वटामा झर्नु सकारात्मक भएपनि त्यो पर्याप्त नभएको बताए ।
‘जुन किसिमले ‘क’ वर्गका बैंकहरूलाई मर्जर गर्न सक्नुपथ्र्यो त्यसमा प्रश्न देखिन्छ,’ उनले भने ।
भट्टराईले अहिले जानेर/नजानेर आएको मर्जर नीतिले सही अवस्थामा ल्याएको बताउँदै अब मर्जर गरिएन भने ढिला हुने बताए ।
उनले भने, ‘स्टेपबाइ स्टेप भएका मर्जरहरू सकारात्मक छन्, तर अब पनि ‘क’ वर्गका बैंकहरूबीच मर्जर भएन भने ढिला हुन्छ ।’
उनले नेपाल राष्ट्र बैंकले अबको ५ वर्ष, १० वर्ष र २० वर्षको बैंकिङ क्षेत्रको रणनीति कस्तो रहन्छ भन्ने प्रक्षेपण गरेर मर्जरलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
‘आजलाई हैन भोलिको अवस्थामा नेपालमा बैंकको अवस्था कस्तो रहन्छ ? त्यसलाई हेरेर नीति बनाउनुपर्छ’, उनले भने ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले संख्यात्मक रूपले बैंक तथा वित्तीय संस्थाहरूको बाहुल्यता अझै रहिरहेकाले ठूला बैंकहरूबीच मर्जर हुनु आवश्यक रहेको बताए ।
कतिपय बैंकहरूले हामी मर्जरका लागि तयारी गरिरहेका छौं भनेर बेलाबखत भन्ने गरेकाले आशावादी हुन सकिएपनि मर्जरमा भने शंका रहेका रहेको उनले बताए ।
‘ठूला–ठूला बैंकहरूले मर्जरका लागि पाइपलाइनमा छौँ चाहिँ भनिरहेका छन् । शेयर बजार उकास्नका लागि पनि कहिले–कहिले खेलहरू खेलिरहन्छन्, अनि शंका हुन्छ,’ उनले भने ।
के भन्छ राष्ट्र बैंक ?
नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायणप्रसाद पोखरेलले तत्कालीन अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूबीच मर्जर हुनु आवश्यक भएर नीति ल्याइएको भएपनि अहिले भने दबाब नदिएको बताए ।
उनले भने, ‘त्यतिखेरको अवस्था र अहिले अलि फरक छ, त्यसकारण हामीले अहिले मर्जरलाई प्रोत्साहन गरेका छौं, तर दबाब दिएका छैनौं ।’
बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय विवरण कमजोर भएमा वा वित्तीय स्थायित्वमा नै समस्या पर्ने भएमा मर्जरलाई दबाब दिने नीति राष्ट्र बैंकको रहेको उनले स्पष्ट पारे ।
पोखरेलले भने, ‘हामीले अहिले दबाब दिएका छैनौं, नियालिरहेका हुन्छौं, अवस्था कमजोर देखिएमा मर्जरका लागि दबाब पनि दिन्छौं ।’
बैंकहरू दुवै राजीखुसी भएमा मर्जर हुन सक्ने बताउँदै बैंकहरू विस्तारै त्यसतर्फ लाग्ने उनको विश्वास छ । ‘दुवै संस्था ह्याप्पी–ह्याप्पी भएर मर्जरमा जाऊन् भन्ने चाहना हो,’ उनले भने ।
के छ पछिल्लो अवस्था ?
चालू आर्थिक वर्ष २०७७/२०७८ को माघ मसान्तसम्ममा कुल २ सय १३ बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १ सय ६१ संस्थाको इजाजत खारेज हुन गई ५२ संस्था कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या १४३ रहेको छ ।