
छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरू भएसँगै भारतसँग जोडिएको सिरहाको विभिन्न नाकामा सतर्कता बढाइएको छ ।
भारतमा तीव्र गतिमा कोरोना संक्रमण फैलिन थालेपछि त्यसको जोखिम सिरहामा पनि पर्न सक्ने भन्दै भारतसँग जोडिएको सिरहाको माडर, ठाडी, बरियारपट्टी, औरही र नवराजपुर नाकामा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
भारतीय बजारबाट बढी आवतजावत हुने ती स्थानमा पुनः हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । यसअघि गत वर्ष सोही स्थानहरूमा हेल्थ डेस्क स्थापना गरिएको थियो ।
कोरोना संक्रमणको उच्च जोखिममा रहेको सिरहामा संक्रमण फैलिन नदिन सीमा नाकामा आवतजावत गर्नेहरूको नियमित स्वास्थ्य जाँचसँगै स्वास्थ्य सतर्कता अपनाउने विधिबारे सचेत बनाउन हेल्थ डेस्क राखिएको प्रमुख यादवले बताए ।
जिल्ला प्रशासन कार्यालय सिरहाले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी होली पर्व घरमै मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना जारी गरी कोरोना संक्रमण कायमै रहेको र हाल नयाँ स्वरूपमा देखा पर्न थालेकाले होली लगायतका पर्व भीडभाड नगरी घरमै मनाउन आग्रह गरे ।
कोरोना संक्रमणका कारण सिरहामा १२ हजार ४५० जनाको स्वाब परीक्षण गरिएकोमा १० हजार ८०२ जनामा नेगेटिभ तथा १ हजार ६४८ जना पोजेटिभ आएको थियो । तीमध्ये २५ संक्रमितको मृत्यु भएको थियो ।