
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास सर्वसाधारणमा मात्रै होइन, चिकित्सकमा समेत रहेको एक घटना अमेरिकाबाट सार्वजनिक भएको छ ।
सीएनएन रिपोर्ट अनुसार अमेरिकाकी डा. टिफिनी ओस्बर्न १ वर्षदेखि घरभित्र गइनन् । घरपरिवारलाई भेट्न आएका बेला उनी गाडीमै सुत्थिन् र अस्पतालको ड्युटीमा फर्किन्थिन् ।
तर अब उनी घर फर्किएकी छन् । कोरोना भाइरस विरुद्धको खोप लगाएपछि उनी हालै घर पुगेकी छन् । खोप लगाउनुअघि उनलाई डर थियो – कतै आफूबाट परिवारमा भाइरसको संक्रमण सर्नसक्छ ।
विगत १ वर्षसम्म उनले अस्पतालमा कोरोनाका बिरामीको स्याहारसुसार गरेकी छन् । उनी अस्पतालको आईसीयूमा कार्यरत थिइन् । यसक्रममा उनी पति र बच्चाबाट १ वर्षसम्मै अलग रहिन् ।
उनी सन् २०२० मार्चमा घरपरिवारबाट अलग भएकी थिइन् । उनी ठ्याक्कै १ वर्षपछि अर्थात् २०२१ मार्चमा घर गएकी छन् । ‘म मात्रै होइन, थुप्रै डाक्टर घरबाट टाढा रहे, केही डाक्टर अझै घर फर्किन पाएका छैनन् तर हामी घरपरिवारकै बारेमा सोचिरहन्थ्यौं,’ उनले भनिन्, ‘मैले सोचेकी थिइनँ कि घरपरिवारबाट यतिधेरै समय टाढा बस्नुपर्ला ।’
