०१ असार २०८३, सोमबार

भारतबाट फर्किनेहरूमा दिनहुँ कोरोना संक्रमण, बढ्यो खतरा

चैत १२, २०७७
भारतबाट फर्किनेहरूमा दिनहुँ कोरोना संक्रमण, बढ्यो खतरा

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० की एक युवतीमा बिहीवार बिहान गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । 

परिवारका सदस्यसँग भारतको पञ्जावबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

कञ्चनपुरको पूर्वी गौरीफन्टा नाकामा बिहीवार बिहान मात्रै भारतको पञ्जाव र पुनाबाट आएका ४ जनामा संक्रमण देखिएको छ । गौरीफन्टा नाकामा कोरोना परीक्षणमा खटिएका पुर्नबास नगरपालिकाका स्वास्थ्य शाखाका अहेव गणेश साउँदले कैलालीको टीकापुरका २ र डोटीका २ जनामा संक्रमण देखिएको बताए ।

‘यस नाकाबाट दैनिक ५०० देखि ७०० सम्म नेपाली भारतबाट फर्किरहेका छन्,’ अहेव साउँदले भने, ‘सीमामा परीक्षण गर्दा हरेक दिनजसो कोरोना पोजेटिभ देखिएको छ ।’

उनले बुधवार सोही नाकामा परीक्षण गर्दा ८ र मंगलवार ५ जनामा कोरोना देखिएको बताए । ‘१ हप्ताको विवरण हेर्दा २० जनामा संक्रमण देखिएको छ,’ उनले भने, ‘भारतमा संक्रमित क्षेत्रबाट आइरहेका नेपालीहरूमा संक्रमण देखिन थालेको छ ।’

गड्डाचौकी प्रहरीका अनुसार पछिल्लो समय भारतका विभिन्न शहरमा कोरोनाको संक्रमण बढिरहेसँगै मजदुरीका लागि भारत गएकाहरू सिमानाबाट फर्किने क्रम बढेको छ । ‘दैनिक ४०० देखि ५०० नेपाली गड्डाचौकी नाकाबाट घर फर्किरहेका छन्,’ इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, ‘सीमामा स्थानीय प्रशासनले भारतको संक्रमित क्षेत्रबाट आइरहेकाहरूको स्वास्थ्य परीक्षण पनि गरिरहेको छ ।’

कोरोना कहरको अवस्था सामान्य बन्दै गएका बेला भारत जाने क्रम यहाँबाट शुरू भए पनि भारतमा संक्रमण बढ्दा फर्किनेको चाप बढ्न थालेको हो । कञ्चनपुर प्रशासनले पनि यहाँ कोरोना संक्रमण बढ्न नदिन स्वास्थ्य सतर्कता कायम गर्न अनुरोध गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भारतका केही राज्यमा कोरोना संक्रमणको दर बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको भन्दै यस्तो अवस्थालाई मध्यनजर गर्दै प्रशासनले आदेश जारी गरेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा जारी विज्ञप्तिमा नजिकिँदै गरेको होलीलगायत कुनै मेला, पर्व र भीडभाड नगर्न भनेको छ ।

प्रशासनले कोरोना संक्रमण बढ्न नदिन सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह समेत गरेको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भारतमा कोरोना पुनः फैलिएसँगै यहाँका सीमामा कोरोनाको नमूना परीक्षणका लागि जनशक्ति थप गरिएको बताए । ‘पूर्वी गौरीफन्टा नाकामा संक्रमण बढी देखिएको छ,’ उनले भने, ‘त्यहाँ कैलाली र कञ्चनपुरको स्वास्थ्यकर्मीको टोली खटिएको छ ।’ 

गड्डाचौकी नाकामा पछिल्लो समय ५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयले माथिल्लो तहबाट आएको निर्देशनानुसार स्थानीय प्रशासन र पालिकासित समन्वय गरेर अघि बढेको छ । ‘सीमामै हेल्थ डेस्क राखेर एन्टिजेन परीक्षण भइरहेको छ,’ प्रमुख सुनारले भने, ‘पञ्जाव, गुजरात र महाराष्ट्र लगायतका क्षेत्रबाट आइरहेकामा शंकास्पद देखिएको परीक्षण गर्ने गरिएको छ ।’ – शेरबहादुर सिंह/रासस

salt training

कमेन्ट गर्नुहोस्