०९ असार २०८३, मंगलबार

‘नयाँ भेरिएन्ट आए अवस्था जटिल’

चैत १३, २०७७
‘नयाँ भेरिएन्ट आए अवस्था जटिल’

कोरोना संक्रमण दर केही वृद्धि भएपछि उच्च स्वास्थ्य सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् । खोप लगाएका र नलगाएका सबैले मास्क, सामाजिक दूरी, हातको सरसफाइ, हावा ओहोरदोहोर हुने ठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाइसाथ पालना गर्न उनीहरूको सुझाव छ । 

‘संक्रमितमा ३–४ महिनापछि एन्टिबडी घट्दै गएको पाइयो,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले भने, ‘असोज/कात्तिकतिर संक्रमण उच्च देखिएको थियो, अहिले संक्रमणविरुद्धको एन्टिबडी घट्दै गएको देखिएको छ । भारतमा संक्रमण उत्कर्षमा देखिएको ३–४ सातापछि यहाँ पनि संक्रमण बढ्यो ।’

उनका अनुसार सुदूरपश्चिमका गौरीफन्टा र गड्डाचौकी नाकाबाट नेपाल भित्रिएकामध्ये २४ जनामा एन्टिजेन पोजिटिभ देखिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ बेलायतमा देखिएको भाइरसको ७३६ पोजिटिभ नमुना देखिएको छ ।

यस्तै, दक्षिण अफ्रिकी भाइरसको ३४ नमुना र एउटा नमुना ब्राजिलको पाइएको छ । भाइरसको चिन्ताजनक प्रकार र दोहोरो म्युटेसन भएको भेरिएन्ट पनि भारतमा भेटिएको छ । तर यसको संख्या यकिन छैन । हालसम्म नेपालमा बेलायतमा देखिएको भाइरसको भेरिएन्ट पुष्टि भएको थियो ।

नेपालमा संक्रमित ८० प्रतिशतभन्दा बढीमा कुनै लक्षण नदेखिएर आफैं निको भएको अवस्था (एसिम्प्टोम्याटिक) भएकाले कतिको शरीरमा एन्टिबडी बन्यो भन्नेबारे अनुसन्धान भएको छैन । जनस्वास्थ्यविद् डा.राजेन्द्र बीसीका अनुसार संक्रमण उच्च अवस्थामा रहेका बेला करिब ५० प्रतिशतभन्दा बढी नेपाली कुनै न कुनै रूपले संक्रमित भएका थिए । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले नेपालमा करिब ५० प्रतिशत व्यक्तिमा कोरोना भएको बताए ।


पुरानो भेरिएन्टविरुद्धको एन्टिबडी नेपालीले बिस्तारै गुमाउँदै गरेको अवस्थामा नयाँ भेरिएन्ट आए अवस्था थप जटिल बन्ने डा.बीसी बताउँछन् । नयाँ भेरिएन्टविरुद्ध शरीरमा एन्टिबडी नबनिसकेकाले थप समस्या ल्याउन सक्ने उनको भनाइ छ । ‘खोपले नयाँ भेरिएन्टविरुद्ध समेत काम गर्न सक्ने मान्यता रहे पनि प्रमाणीकरण भइसकेको छैन,’ उनले भने । डब्लूएचओको साप्ताहिक महामारीसम्बन्धी अद्यावधिक विवरणअनुसार दक्षिणपूर्वी एसिया, पश्चिम प्रशान्त, युरोप र पूर्वी भूमध्यसागर क्षेत्रमा संक्रमणमा वृद्धि देखिएको छ । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्