०४ साउन २०८३, सोमबार
अद्भुत प्रगतिको कथा

बंगलादेश स्वतन्त्रताको ५० वर्ष : यसरी बन्यो दक्षिण एसियाको आर्थिक र भूराजनीतिक शक्ति

चैत १३, २०७७
बंगलादेश स्वतन्त्रताको ५० वर्ष : यसरी बन्यो दक्षिण एसियाको आर्थिक र भूराजनीतिक शक्ति
तस्वीर स्रोत : ढाका ट्राइब्युन/रोहत राजीव

आज (२६ मार्च) बंगलादेशले पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गरेको ५०औं वार्षिकोत्सव मनाइरहेको छ । उक्त देशले सफलतापूर्वक आर्थिक तथा सामाजिक रूपान्तरण गरेको भन्दै चौतर्फी प्रशंसा हुने गरेको छ । 

तर बंगलादेशको आर्थिक उदयका गहन भूराजनीतिक परिणामहरूको खासै चर्चा गरिएको देखिँदैन । अहिले दक्षिण एसियाको आर्थिक केन्द्र पूर्वतिर सरेको छ । अनि बंगलादेश दोस्रो स्वतन्त्रताको मझधारमा छ । यस स्वतन्त्रताले उसको तुलनात्मक एकान्तवासलाई अन्त्य गर्नेछ र यस क्षेत्र तथा अन्यत्र पनि ढाकाले थप बलियो भूमिका निर्वाह गर्नेछ । हिन्द प्रशान्त क्षेत्रमा उसले जलक्षेत्रका नयाँ सम्भावनाहरूको तलाश गर्नेछ । 

सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुनका लागि रक्तरञ्जित युद्ध लडेर सार्वभौम मुलुक बनेको बंगलादेश टिक्छ भन्नेमै धेरैको विश्वास थिएन । दशकौंसम्म यो संसारकै सबभन्दा गरीब मुलुकमध्ये एक थियो । भोकमरी, आधारभूत सुविधाको कमी र रोग उसका पर्याय थिए । तर विगत केही वर्षयतादेखिको उच्च आर्थिक वृद्धिदरले बंगलादेशको आर्थिक विकासलाई तीव्रता दिएको छ । 

उक्त देश सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट माथि चढ्ने दिशामा अघि बढिरहेको छ र सन् २०३० सम्ममा विश्वका २५ विशाल अर्थतन्त्रमा गनिने सम्भावना छ । अन्तर्राष्ट्रिय विकास संस्थाहरूले गरीबी घटाउन, औसत आयु सुधार गर्न, साक्षरता दर बढाउन र महिलालाई सशक्त पार्न ढाकाले सफलता पाएको भनी प्रशंसा गरेका छन् । 

तर बंगलादेशको आर्थिक रूपान्तरणसँगै उसको बढ्दो भूराजनीतिक महत्त्वको चर्चा भएको छैन । दक्षिण एसियाको भूराजनीतिको कुरा गर्दा लामो समयसम्म भारत र पाकिस्तानलाई मात्र जोड दिने गरिन्थ्यो । 

सरसर्ती हेर्दा पनि दक्षिण एसियाका अन्य मुलुकले पनि रणनीतिक महत्त्व हासिल गरिरहेको देखिन्छ । श्रीलंका र माल्दिभ्स हिन्द महासागरको मुटुमा रहेको सामुद्रिक मार्गमा पर्छन् र भारत, चीन, जापान तथा अमेरिका जस्ता प्रमुख जलसैन्य शक्तिहरूको चासो तिनमा छ । 

चीन र भारतको बीचमा हिमालयको काखमुनि बसेका नेपाल र भुटान बेइजिङ र दिल्लीको घनीभूत भूराजनीतिक प्रतिस्पर्धाका क्रीडास्थल बनेका छन् । 

बंगलादेशको भूराजनीतिक महत्त्व उसको आकारले निर्धारण गरेको छैन । उक्त देशको जनसंख्या लगभग १७ करोड छ जुन संसारको आठौं सबभन्दा धेरै हो । बंगलादेशबाहिर बस्ने बंगालीहरूको संख्या लगभग ८० लाख छ । अरबका खाडी मुलुकहरूमा ठूलो संख्या रहेकोमा अंग्रेजी बोल्ने मुलुकहरूमा पनि उनीहरूको उपस्थिति छ । 

बंगलादेश उत्तरमा नेपाल र भुटानसँग भौगोलिक रूपमा नजिक छ, उत्तरपूर्वमा चीन अनि दक्षिणपूर्वमा बर्माको नजिक छ । यसले गर्दा ऊ यी सबै मुलुकको आकर्षक पार्टनर बनेको छ । 

भारतका लागि बंगलादेश हालैका वर्षमा सबभन्दा महत्त्वपूर्ण छिमेकी बनेको छ अनि दुई देशबीचको रणनीतिक, राजनीतिक र आर्थिक सम्बन्ध बलियो बन्दै गएको छ । अन्तर्राष्ट्रिय शान्तिसेनामा पनि बंगलादेश प्रमुख योगदानकर्ता हो । 

बंगलादेश निर्यातक मुलुक बनेको छ । विशेषगरी उसको कपडा कारखानाले सन् २०१९ मा ३० अर्ब डलर बराबरको निर्यात गरेको थियो । उक्त देश चीनपछिको दोस्रो रेडीमेड कपडाको उत्पादक हो र १५० भन्दा बढी देशमा उसका उत्पादन पुग्ने गर्छन् । 

बंगलादेशको भूराजनीति उसको जन्मसँगै शुरू भएको हो । पाकिस्तान बनेको २५ वर्षभित्रै उसबाट छुट्टिएको बंगलादेश कुनै पनि मुलुकलाई धर्मले शान्तिपूर्ण तरिकाले एकीकृत राख्न सक्दैन भन्ने तथ्यको सबभन्दा उम्दा उदाहरण हो । बंगलादेशको राजनीतिमा इस्लामले महत्त्वपूर्ण भूमिका खेलिरहेको भए पनि देशमा कट्टरपन्थीहरूलाई नियन्त्रण गरेर उसले महत्त्वपूर्ण राजनीतिक उपलब्धि हासिल गरेको छ । 

बंगलादेशको विशिष्ट भौगोलिक अवस्थिति र राजनीतिक चरित्र उसले आर्थिक सफलता हासिल नगरेको भए खासै महत्त्वपूर्ण मानिँदैनथियो । पाकिस्तान र भारतको तुलनामा बंगलादेशको आर्थिक रूपान्तरण बुझ्नका लागि दुई महत्त्वपूर्ण तथ्यलाई विचार गरौं । 

पहिलो, बंगलादेश सन् २०१९ मा पाकिस्तानलाई उछिनेर उपमहाद्वीपको दोस्रो ठूलो अर्थतन्त्र बन्यो । उनीहरूबीचको अन्तर थप बढ्ने सम्भावना छ किनकि कोभिड–१९ महामारीमा पनि बंगलादेशको वृद्धि भइरहेकै छ तर पाकिस्तान आर्थिक सुस्ततालाई अन्त्य गर्न संघर्षरत छ । 

दोस्रो, सन् २०२० मा अन्तर्राष्ट्रिय मुद्रा कोषले बंगलादेशको प्रतिव्यक्ति आय भारतको भन्दा केही डलरले अघि हुने घोषणा गरेको थियो । महामारीको बेलामा भारतीय अर्थतन्त्रमा ठूलो कमी आएकाले उक्त आँकडा बनेको भए पनि यसले बंगलादेशको आर्थिक वृद्धिलाई इंगित गरेको थियो । यसले बंगलादेश अब उपमहाद्वीपको सहायक खेलाडीमा सीमित नभएको प्रमाणित भएको छ । 
 

उपमहाद्वीपको प्रगति र भूराजनीतिक महत्त्वलाई भारत पाकिस्तानबीचको शत्रुताले छायाँमा पारेको भनी बिलौना गर्नु अहिलेको फेशन हो । तर भारत र पाकिस्तानले कुराकानी गरेनन् अनि सार्क बेकामे भयो भन्दैमा यस क्षेत्रका अन्य मुलुक अघि बढ्न सक्दैनन् भन्ने हैन । 

पाकिस्तानभन्दा छिटो वृद्धि हुँदै गर्दा, शिक्षाको स्तर बढाउँदै गर्दा अनि जनसंख्या वृद्धिमा काबु पाउँदै गर्दा बंगलादेशले यस क्षेत्रको आर्थिक केन्द्रलाई पूर्वतिर सार्दै लगेको छ । पाकिस्तानले भारतलाई आर्थिक रूपमा इंगेज गर्न नचाहँदा सार्क बेकामे बनेकोले गर्दा यो परिवर्तनमा वृद्धि भएको छ । त्यसले गर्दा भारत, बंगलादेश, भुटान र नेपालबीच उपक्षेत्रीय सहकार्यमा जोड दिन थालिएको छ र म्यान्मार तथा थाइल्यान्डसँग पराक्षेत्रीय सहकार्य पनि हुन थालेको छ । 

बंगलादेश उपमहाद्वीपभित्र भारतको मुख्यभूमि र टाढाका उत्तरपूर्वी क्षेत्रबीचको पुल हो । पूर्वोत्तरसँग भारतको सम्पर्क चिकेन्स नेक नामक साँघुरो र जोखिमपूर्ण कोरिडोरमार्फत जोडिएको छ । 

ढाकाले आफूलाई भूपरिवेष्ठित नभई भारत तथा क्षेत्रका अन्य मुलुकसँग भूजडित र नदीजडित रूपमा हेर्ने गरेको छ । 

इस्लामाबाद र ढाकाले आफ्नो भौगोलिक विरासतलाई भिन्न तरिकाले फाइदा उठाएको देखिन्छ । पाकिस्तानको रणनीतिक समुदायले आफ्नो अद्वितीय अवस्थितिलाई भूराजनीतिक रूपमा हेर्ने गरेको छ भने बंगलादेशले आफ्नो भूगोललाई आर्थिक वृद्धिका रूपमा उपयोग गरिरहेको छ । 

पाकिस्तानले भारतको विशाल बजारलाई विचार गर्दै आर्थिक सहकार्य गर्ने अवसर गुमायो । कश्मीर समस्या हल भएमा मात्र भारतसँग आर्थिक सम्बन्ध कायम हुने पाकिस्तानको अडान छ जसले उसैलाई फाइदा गरिरहेको छैन ।

उता बंगलादेशले भारतसँगको लामो सीमालाई आर्थिक अवसरको स्रोत बनाएको छ । अनि उसले नयाँ दिल्लीसँगको विवादास्पद द्विपक्षीय मुद्दा हल गर्नेतर्फ प्रगति पनि गरेको छ । 

बंगालको खाडीमा रहेको रहेको बंगालदेशले जलक्षेत्रीय मामिलामा पनि चासो बढाउन थालेको छ । ढाकाले विगत एक दशकमा भारत र म्यान्मारसँग सामुद्रिक सीमाका विवादहरू हल गर्ने पहलकदमी लिएको छ । सही कार्ड खेलेमा बंगलादेशले हिन्द प्रशान्त क्षेत्रमा तीव्र गतिमा विकसित भइरहेको डाइनामिकलाई उपयोग गर्दै जलक्षेत्रीय क्षमतामा अभिवृद्धि गर्न सक्छ । ढाकाको हिन्द प्रशान्त झुकाव बंगालको खाडीमा आरम्भ हुनुपर्छ । बंगालको खाडीमा चीन, भारत, जापान र अमेरिकाबीचको प्रतिस्पर्धा चुलिँदो छ । 

अमेरिका र जापानसँग थप बलियो सम्बन्ध कायम भएमा भारत वा चीनप्रतिको अत्यधिक निर्भरता घट्ने र विकल्पहरू विस्तार हुने कुरा ढाकालाई थाहा छ । ढाकाले भूराजनीतिक चेसबोर्डमा खेल्न र परिस्थितिको फाइदा उठाउनका लागि सक्रियता बढाइरहेको छ । 

एसियाका अन्य मुलुकले झैं उसले चीनको बेल्ट यान्ड रोड इनिसिएटिभलाई आँखा चिम्लेर समर्थन गरेन, बरू बहुसंख्यक पार्टनरहरूसँग सम्पर्क बढाउन खोज्यो । चीन र क्वाडबीच जलक्षेत्रीय प्रतिस्पर्धामा उसले यस्तै किसिमका अवसरहरू पाएको छ । 

फरेन पोलिसीमा प्रकाशित नेसनल युनिभर्सिटी अफ सिंगापुरको इन्स्टिच्युट अफ साउथ एसियन स्टडीजका निर्देशक सी राजामोहनको आलेखको अनुवाद 

salt training

कमेन्ट गर्नुहोस्