
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल (खनाल–नेपाल) पक्ष शुक्रवारको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ । बैठकको निर्णयानुसार खनाल बैठकमा सहभागी हुने भएका छन् ।
काठमाडौंको कलंकीस्थित एक पार्टी प्यालेसमा शुक्रवार बसेको केन्द्रीय सदस्यहरूको बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।
‘संसदीय दलको बैठकमा सहभागी हुने राजनीतिक निर्णय भएको छ, सांसद साथीहरू आजको बैठकमा जानुहुन्छ,’ नेता पन्तले भने, ‘नेकपा एमालेभित्र बसेर पार्टीलाई बलियो, शुद्ध, गतिशील र क्रियाशील बनाउका लागि बैठकमा सहभागी हुने निर्णय भएको छ ।’
बैठकमा को–को सहभागी हुने नहुने भन्ने व्यक्तिमा भर पर्ने उनले बताए । खनाल सहभागी हुने भएपनि भीम रावलले संसदीय दलको बैठकमा नजाने बताएका छन् ।
संसदीय दलको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
बैठकपछि केन्द्रीय सदस्य ठाकुर गैरेले सर्वोच्च अदालतको फैसलाबमोजिम जेठ २ गतेको अवस्थामा फर्काउन आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।
नेपाल पक्षको अनुपस्थितिमा चैत ७ गते बसेको एमाले केन्द्रीय समिति बैठकले दशौं महाधिवेशनको मिति तोक्दै केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको थियो ।