२२ जेठ २०८३, शुक्रबार
फिल्म समीक्षा

मिनारी : अमेरिकामा आप्रवासी जीवनसंघर्षको संवेदनशील चित्रण

चैत १५, २०७७
मिनारी : अमेरिकामा आप्रवासी जीवनसंघर्षको संवेदनशील चित्रण

संसारका सबै मुलुकका मानिसका लागि अमेरिका आकर्षक गन्तव्य हो । अमेरिका गएर सुखद जीवनयापनको कामना प्रायः सबै मुलुकका आप्रवासीले राखेका हुन्छन् ।

तर अमेरिकाका रुखमा सुनका फल लाग्दैनन् । निकै कठोर मेहनत र संघर्षपछि मात्र सुखद जीवन नसिब हुन्छ । 
 

आप्रवासीको त्यही सपना र अमेरिकामा सम्मानित जीवन बाँच्नका लागि राखेको धोकोलाई भावनात्मक तथा संवेदनशील रूपमा चित्रण गर्न कोरियाली भाषाको चलचित्र मिनारी सफल छ । निर्देशक ली आइज्याक चुङको आफ्नै जीवनीमा आधारित भनिएको उक्त चलचित्रमा दक्षिण कोरियाबाट सन् १९८० को दशकमा अमेरिकातर्फ बसाइँ सरेर गएको एक परिवारको कथा देखाइएको छ ।

फिल्मका प्रमुख पात्र जेकबमा महत्त्वाकांक्षा र आशा प्रचुर मात्रामा पाइन्छ । क्यालिफोर्नियामा चल्लाको लिंग छुट्ट्याउने जस्तो सामान्य काम गरेर वाक्कदिक्क भएका उनी थप राम्रो अवसरको खोजीमा पत्नी मोनिका र दुई सन्तान यान्नी र डेभिडलाई साथ लिई आर्कान्सास राज्यको ओजार्कमा पुग्छन् । 

चल्लाको लिंग छुट्ट्याउने काममा दक्ष दम्पती आर्कान्सासमा पनि त्यही काम गर्न थाल्छ तर जेकबलाई खेतीपातीमा रुचि भएकाले उनी प्रशस्त जमीन लिएर तरकारी रोप्न थाल्छन् ।

क्यालिफोर्नियाको व्यस्त शहरबाट टाढा जंगलको छेउमा एकलासे ठाउँमा कृषि गर्न आउने अनि विरक्तिलाग्दो चक्के घरमा बस्ने जेकबको निर्णयलाई पत्नी मोनिकाले चित्त बुझाउँदिनन् । उनीहरूबीच झगडा हुन्छ र छोराछोरीहरू हतप्रभ हुन्छन् । मोनिकालाई त्यस्तो एकलासे ठाउँमा छोरो डेभिडको कमजोर मुटु भएका कारण सहज उपचार उपलब्ध नहुने पीर छ । 
 

जेकब र मोनिका दुवै काममा खटिँदा छोराछोरीको रेखदेख गर्ने कोही त चाहियो भनी मोनिकाकी आमा सूनजालाई कोरियाबाट मगाइन्छ । सूनजा खाना पकाउन नजान्ने अनि छाडा बोल्ने भएकीले नाति डेभिडको नजरमा उनी आदर्श हजुरआमा हैनन् । त्यसमाथि आफ्नो कोठा हजुरआमासँग शेयर गर्नुपर्दा उनी निकै चित्त दुखाउँछन् । 

यसैबीच कृषिकर्ममा सहायताका लागि जेकबले पल नामक पूर्वसैनिकलाई नियुक्त गर्छन् । कोरियाली युद्धमा लडेका पलले यस कोरियाली परिवारमा आत्मीयता भेट्छन् तर शायद युद्धको आघातले गर्दा होला उनको स्वभाव अलि अनौठो किसिमको छ । उनी अनौठा आवाज निकाल्छन् अनि जिसस क्राइस्टको नाम लिइरहन्छन् । अनि जिससले जस्तो गरी क्रस बोकेर लतार्दै उनी सडकमा निस्कने गर्छन् । 
 

जेकब र पलको मेहनतले तरकारी त फल्छ तर त्यसलाई बेच्नका लागि अर्को महाभारत हुन्छ । किन्ने भनी ठिक्क परेका ग्राहकले अन्तिम समयमा धोका दिन्छन् अनि अन्य विघ्नबाधा आइलाग्छन् । छोरोछोरीको रेखदेखका लागि ल्याइएकी हजुरआमा थप बोझ बन्न पुग्छिन् ।

अर्थात्, प्रवासी परिवारले सुखद जीवनको कल्पना गरे पनि त्यो सहजै उपलब्ध हुँदैन । जेकब र मोनिकाको विवाह नै टुट्नेसम्मको स्थिति आउँछ । 

संघर्षको यस कथामा आशाका प्रतीकहरू पनि निर्देशक चुङले राखेका छन् । जस्तो, फिल्मको शीर्षक मिनारी आफैंमा प्रतीकात्मक छ । मिनारी भनेको कोरियामा फल्ने एक बोट हो जुन पर्याप्त पानी पाएमा जुन ठाउँमा पनि उम्रिन्छ । त्यसलाई खिम्ची भनिने कोरियाको लोकप्रिय भोजन बनाउनमा उपयोग गरिन्छ । जस्तो परिस्थितिमा पनि हुर्किन सक्ने विशेषता भएको मिनारी अमेरिकी सपना पछ्याउने आप्रवासीको प्रतीक हो । 
 

आप्रवासीले देखेको सपना अमेरिकाको ऊर्वर भूमिमा जहाँ पनि साकार हुन सक्छ । हजुरआमा सूनजाले कोरियाबाट दाना ल्याएर एउटा सानो खोल्सो नजिक रोपेको मिनारीको बोट हुर्केर परिवारमा आशाको सञ्चार गराएको छ । 
आदिम कालमा पशु शिकार युगबाट कृषियुगमा प्रवेश गरेको मानिसको संघर्षलाई प्रतिबिम्बित गर्ने एक आप्रवासी परिवारको जीवनकालको सानो अवधिको यो कथा निकै मार्मिक तवरले पर्दामा उतारिएको छ । प्रमुख पात्रहरूले आफ्नो चरित्रमा पूरापूर न्याय गरेका छन् । 

विशेषगरी हजुरआमा सूनजाका रूपमा युह–जुङ यून र नाति डेभिडका रूपमा बालकलाकार एलन किमबीचको संवाद तथा गैरभाषिक सञ्चार फिल्मको सबल पक्ष हो । त्यसो त सबै पात्रहरू वास्तविक जीवनको नगिच छन् । सबै पात्रहरू निर्माणमा लेखक/निर्देशक चुङले कठोर मेहनत गरेको स्पष्ट देखिन्छ ।
 

आर्कान्सासको सुन्दर तथा ऊर्वर भूमिलाई सिनेमाटोग्राफर लाकलान मिल्नेले कलात्मक रूपमा पर्दामा उतारेका छन् । कतिपय दृश्यमा प्रकृति आफैं अर्थपूर्ण रूपमा देखिएकी छन् अनि प्रकृतिको काखमा पात्रहरूको गतिविधिलाई तालमेल मिलाएर राखेको देखिन्छ । 

फिल्मको संगीतमा इमाइल मोस्सेरीले मेहनत गरेका छन् । पात्र तथा घटनाको मूड अनुसारको संगीत फिल्मको कथा अघि बढ्ने क्रममा बज्दा श्रोतादर्शकको ध्यान एकत्रित भएको पाइन्छ । 
 

मिनारीको जस्तो कथा भन्ने अरू कैयौं फिल्म छन् तर त्यही कुरालाई सरल तथा संवेदनशील रूपमा भन्न सकेकाले यो फरक बनेको छ । अनि हलिउडमा गोरा जातिका मानिसको कथा हेरिरहिएकोमा अन्य जातिले अमेरिकी सपना साकार पार्नका लागि गरेको प्रयासको कथा हेर्दा फ्रेश अनुभव पनि हुन्छ । 

अमेरिकामा जीवनयापनका लागि संघर्ष गर्ने नेपाली तथा अन्य परिवारले यस फिल्मका प्रमुख पात्रमा आफूलाई देख्नेछन् । त्यस अर्थमा कोरियाली परिवारको कथा एकप्रकारले सम्पूर्ण मानवताकै कथा हो । 

फिल्म हेरेको लामो समयसम्म पनि यसलाई दर्शकले मनमा सजाउन सक्नु नै यसको ठूलो विशेषता हो । तडकभडकविनाको सरल कथाले नै गम्भीर दर्शकको मन जित्छ भन्ने तथ्यलाई मिनारीले स्थापित गरेको छ ।

यस वर्षको अस्कर पुरस्कारका लागि ६ वटा विधामा नामांकित फिल्म मिनारी पुरस्कारका लागि पूर्णतः हकदार छ । 

फिल्म : मिनारी
कलाकार : स्टिभन युन, येरी हान, युह–जुङ यून, विल प्याट, एलन किम, नोएल केट चो आदि
निर्देशक : ली आइज्याक चुङ
विधा : ड्रामा
अवधि : १ घन्टा ५५ मिनेट

salt training

कमेन्ट गर्नुहोस्