०१ असार २०८३, सोमबार

हिजोआज काठमाडौंको हावा धूम्रपानभन्दा खतरनाक छ, बच्न यसो गर्नुस् – डा. निरज बम [कुराकानी]

चैत १५, २०७७
हिजोआज काठमाडौंको हावा धूम्रपानभन्दा खतरनाक छ, बच्न यसो गर्नुस् – डा. निरज बम [कुराकानी]

पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाकेर घाम लाग्न सकेको छैन । हावा धूलोधूवाँका कणहरूले भरिएको छ । स्वासप्रश्वासका बिरामीहरू पनि बढेका छन् । 

यसले गर्दा स्वास्थ्यमा के कस्ता असर गर्छ ? यसबाट बच्न के गर्नुपर्छ ? भन्ने विषयमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका छाति रोग विशेषज्ञ डा. निरज बमसँग लोकान्तरले कुराकानी गरेको छ ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

अहिले काठमाडौं उपत्यकाको वायु प्रदूषण १ सय १ भन्दामाथि ७ सयसम्म पुगेको अवस्था छ । काठमाडौंको आकाशमा धूलोधूवाँका अनगिन्ती कणहरू छन् ।

कतिपयले त भारतको राजस्थानबाट आएको पनि भन्ने गरेका छन् । स्वास्थ्यको हिसाबले अहिले विकराल अवस्था आएको छ भन्न सकिन्छ ।

अहिले १० पीपीएमभन्दा कमका धूलोका कणहरू र धेरैजसो ५ पीपीएमभन्दा कम (जसलाई सामान्य भाषामा बुझ्दा धूवाँको कण भन्न सकिन्छ) देखिएका छन् । 

जुन श्वास नलीको माध्यमबाट फोक्सोको भित्री भित्तासम्म पुग्छन् । त्यहाँ पुगेर एलर्जी बनाउँछन्, जसले गर्दा रुघाखोकी जस्ता लक्षणहरू बढ्छन् । यसले दीर्घ रोगीहरूलाई उनीहरूको रोगमा बढावा दिन्छ । 

यति मात्र नभई ५ पीपीएम साना कणहरू रक्तनलीमा छिरेर रक्तसञ्चारमा समस्य ल्याउँछ, जसले रगतका नलीहरू सानो बनाएर समस्या देखिन्छ ।

यसका अलावा उच्च रक्तचाप, पक्षघात र हृदयाघातको जोखिमलाई १४ गुणसम्म बढाउँछ । 

अहिले नेपालमा फोक्सोको क्यान्सर भयाभहरूपमा अगाडि बढेको छ । फोक्सो क्यान्सरबाट मृत्यु हुनेको संख्या पनि सबैभन्दा धेरै छ । यसले फोक्सोको क्यान्सर बढाइदिन सक्छ । 

यस्तो हावामा बस्नु धूम्रपानभन्दा धेरै हानिकारक छ । अहिलेको हावामा ३ हजार केमिकल्स कणहरू छन् जसमध्ये ६५ प्रतिशत कणहरू क्यान्सरलाई बढावा दिने खालका छन् । 

क्यान्सरलाई बढावा दिने, उच्च कार्बनडाइअक्साइड, साइनाइट, नाइन्ट्रोजनडाइअक्साइड विभिन्न खालका रसायनिक कणहरू छन् ।  

छालाको क्यान्सर, खाने नलीको क्यान्सर, फोक्सोको क्यान्सर, पेटको क्यान्सर लगायतका दीर्घकाल हुने क्यान्सरलाई बढावा दिने कण अहिलेको हावामा छन् । 

धूलोको कारणले अहिले प्रकाशको किरण हामीसम्म आइपुगेको छैन, जसले गर्दा ‘भिटामिन डी’ को कमी भएर रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ । यसले रुघाखोकी लगायत विभिन्न रोगहरू निम्त्याउँछ । 

यस्तो अवस्थामा दीर्घ खालको दम, खोकीका बिरामीहरू बढ्छन् । कोरोना भाइरसको डरत्रास भएको बीचमा भाइरल इन्फेक्सनहरू पनि बढाउँछ । 

यस्तो अवस्थमा सरकार तथा स्वास्थ्य मन्त्रालयले बाहिर ननिस्कन, भीडभाडमा नजान, मर्निङ वाकमा ननिस्कन आग्रह गरेको छ । 

तर यो धूलोधूवाँले घरभित्र पनि असर गरेको छ । हामीले दैनिक काम गर्ने र बस्ने ठाउँमा धूलोधूवाँ उत्तिकै नै देखिन्छ । त्यसकारण यसबाट बच्नका लागि पहिला त मास्कको प्रयोग हो । मास्कको प्रयोगले नेपालमा क्षयरोगमा कमी ल्याएको तथ्याङ्क छ, अर्थात भाइरल इन्फेक्सनमा कमी देखिन्छ ।

भाइरलका बिरामी अघिल्लो वर्षभन्दा यो वर्ष कम देखिए, जसको मुख्य कारण मास्कको प्रयोग हो । यसबाट बच्न पनि मास्कको प्रयोग गर्नुपर्छ । 

सफा खाना, दैनिक अधिकतमभन्दा अधिकतम पानी पिउने, धूम्रपान र मध्यपान नगर्ने गरेको खण्डमा यसबाट बच्न सकिन्छ । अहिले उपत्यकामा देखिएको धूलोधूवाँले यौन क्षमतामा कमी, प्रजनन क्षमतामा कमी लगायतका समस्याहरू पनि देखिन्छन्, जसलाई धूम्रपान र मध्यपानले झन बढावा दिन्छ । 

अहिले विषेश गरेर मिर्गौला, क्यान्सर, कलेजो, दीर्घरोग भएका बिरामीले अत्यन्त सावधानी अपनाउनुपर्ने हुन्छ । 

अहिलेको अवस्थालाई हेर्ने हो भने पानी नपरेसम्म सफा हुने अवस्था देखिँदैन ।

त्यसैले घरका कोठाहरू दैनिक सफा गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, हरियो सागपात खाने, गेडागुडीहरूको प्रयोग बढाउने र उच्च प्रोटिन भएका खानेकुरा बढी खानुपर्ने हुन्छ । 

(डा. वमसँग लोकान्तरका लागि गगन अर्यालले गरेको कुराकानीमा आधारित ।)

salt training

कमेन्ट गर्नुहोस्