
इजिप्टको सुएज नहरमा अड्किएको एक विशाल मालवाहक जहाज एभर गिभनलाई हटाउनका लागि प्रयास जारी छ ।
आइतवार साँझसम्ममा जहाजलाई तैरिने अवस्थामा पुर्याउने नहरका अधिकारीहरूले अपेक्षा गरेका छन् ।
सुएज नहर संसारको सबभन्दा व्यस्त व्यापार मार्गमध्ये एक हो र एभर गिभन गत मंगलवारदेखि त्यहाँ अड्केर बसेको छ ।
त्यो जहाज अड्केका कारण दुवैतर्फ गरी ३०० भन्दा बढी जहाजको आवागमन अवरुद्ध भएको छ ।
अन्य जहाजहरू अफ्रिकातर्फ घुमेर जानुपरेको छ ।
शनिवार २० हजार टन बालुवा हटाइएको थियो अनि १४ वटा टगबोटहरूले एभर गिभनलाई तान्ने र धकेल्ने काम गरेका थिए ।
बलियो टाइड र हावाले जहाजलाई चलायमान बनाउने प्रयास जटिल बनाएको भए पनि टगबोटहरूले त्यसलाई दुवैतर्फ ३० डिग्री धकेलेका थिए ।
सुएज नहरका अध्यक्ष जनरल ओसामा राबीले जहाजमुनि पानी बग्न थालेको बताए ।
‘
अब कुनै पनि बेलामा जहाज अहिलेको ठाउँबाट अघि बढ्न सक्छ,’ उनले पत्रकार सम्मेलनमा बताए ।
जहाजको भार कम गर्न त्यसमा रहेका १८ हजार ३०० कन्टेनरहरू हटाउने आवश्यकता नपर्ने आशा गरेको उनले बताए ।