
इजिप्टको सुएज नहरमा विगत ६ दिनदेखि अड्किएको विशालकाय मालवाहक जहाज एभर गिभन तैरिन थालेको छ र बिस्तारै गन्तव्यतिर जान थालेको छ ।
स्थानीय समयअनुसार सोमवार बिहान साढे ४ बजे जहाजलाई रिफ्लोटिङ गराइएको हो ।
यो जहाज त्यहाँबाट हटेपछि संसारले सन्तोष मानेको छ किनकि यो अड्किँदा ट्राफिक जाम भएर धेरै जहाजहरू रोकिएर बस्नुपरेको थियो ।
पनामाको झण्डा भएको अनि एसिया र युरोपबीच मालसामान ओसार्ने एभर गिभन मंगलवार नहरमा फसेको थियो । सुएज नहरका अधिकारीहरू जहाजलाई निकाल्न र जलमार्गको जाम हटाउन लागिपरेका थिए । कडा मेहनतपछि टगबोटहरूको सहायताले जहाजलाई तैराउन सकिएको हो ।
कुल १९३.३ किलोमिटर लामो सुएज नहरले भूमध्यसागरलाई रातो सागरसँग जोड्छ । यसै बाटो भएर संसारका लगभग ३० प्रतिशत जहाजहरू जाने गर्छन् । संसारभरिको १२ प्रतिशत सामानको ढुवानी यही बाटो भएर हुने गर्छ ।
यसमार्फत दिनदिनै नौ अर्ब डलरको कारोबार हुन्छ ।
जहाज फस्दा विश्वको परिवहन र व्यापारमा नकारात्मक असर परेको थियो जबकि कोरोना महामारीले विश्व अर्थतन्त्र पहिलेबाट नै प्रभावित छ ।
समुद्रमा भीषण ट्राफिक जाम हुँदा त्यसको असर संसारभरि देखिन थालेको थियो । ट्वाइलेट पेपर बनाउने सबभन्दा ठूलो कम्पनी सुजानो एसएले जहाज फूदा विश्व स्तरमा ट्वाइलेट पेपरको संकट हुन सक्ने जनाएको थियो ।
सुएज नहरको जामबाट बच्न कैयौं मुलुकका जहाज अफ्रिका घुमेर आउनुपरेको थियो । त्यसले गर्दा सामान पुग्न एक साता बढी लाग्ने गरेको थियो ।