०१ साउन २०८३, शुक्रबार

पश्चिमको मानवअधिकार चिन्तालाई व्यंग्य गर्दै चिनियाँ कलाकारले बनाए चित्र

चैत १६, २०७७
पश्चिमको मानवअधिकार चिन्तालाई व्यंग्य गर्दै चिनियाँ कलाकारले बनाए चित्र

चीनमा मानवअधिकार उल्लंघनको विषयमा पश्चिमी मुलुकहरूले गरेको आलोचनालाई व्यंग्य गर्दै चीनका एक कलाकारले बनाएको चित्र त्यहाँको सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

चित्रमा एक पत्रकार र एक क्यामराम्यानले जातिविभेद गर्ने गोराहरूको समूह क्लु क्लक्स क्लानको सेतो हूड लगाएर कपासको खेतमा रहेको बुख्याँचाको अन्तर्वार्ता लिइरहेको देखिन्छ । 

बुख्याँचाको क्रसलाई सन्तुलनमा राख्नका लागि अमेरिकाको मिन्नियपोलिस प्रहरीको युनिफर्म लगाएको एक व्यक्ति लागिपरेको देखिन्छ । त्यसले सन् २०२० मा काला जातिका पुरुष जर्ज फ्लोयडलाई घाँटी थिचेर मार्ने प्रहरी अधिकारीको संकेत गरेको हो । 
 

माइक्रोफोनको लोगो बीबीसी न्युज जस्तै देखिन्छ । क्याप्सन यसप्रकार छ, ‘तपाईंमाथि कस्तो दुर्व्यवहार भयो भन्न सक्नुहुन्छ, सुश्री बुँख्याचा ?’

बुख्याँचाको छेउमा राखिएको प्लेकार्डमा लेखिएको छ, ‘ममाथि यौन आक्रमण तथा दुर्व्यवहार भयो ।’
 

वुहेचिलिन नामक कलाकारले यो तस्वीर बनाएका हुन् । 

पश्चिमी सरकार र अधिकारवादी समूहहरूले चीनको पश्चिमी प्रान्त सिन्ज्याङमा उइगुर समुदायका मानिसलाई शिविरमा राखेर यातना दिइएको आरोप लगाएका छन् । बेइजिङले यसको कडा प्रतिवाद गर्दै ती शिविरहरू व्यावसायिक तालिम केन्द्र भएको र धार्मिक अतिवादको सामना गर्न खोलिएको बताउँदै आएको छ । 

सन् २०२१ को आरम्भतिर बीबीसीले शिविरका महिलाहरूमाथि बलात्कार, यौन दुर्व्यवहार र यातना दिइने गरेको भनी खबर दिएको थियो । 

चीनको परराष्ट्र मन्त्रालयले बीबीसीको खबर तथ्यमा आधारित नरहेको तथा उसले अन्तर्वार्ता गरेका व्यक्तिहरू गलत सूचना फैलाउने कलाकार भएको कैयौंपटक प्रमाणित भएको बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्