
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५.४५ अंकले घट्दा शेयर बजार २५४३.५२ विन्दुमा झरेको छ।
गत साताको अन्तिम कारोबार दिन पनि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।
यस दिन कारोबार रकममा पनि गिरावट आएको छ। गत बिहीवार साढे ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २०९ कम्पनीको ६४ हजार ५१५ पटकको कारोबारमा ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार रुपैयाँ बराबरको ९१ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से र कारोबार रकम घटेपनि यस दिन तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन उन्नती सहकार्य लघुवित्त, अजोड इन्स्योरेन्स र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, य सदिन समिट माइक्रोफाइनान्सको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ।
निरन्तर २० कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको चन्द्रागिरी हिल्सको शेयरमूल्य भने यस दिन सर्वाधिक ७.१७ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन माउन्टेन हाइड्रोको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४४ करोड ३१ लाख ६५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपर तामाकोशी र चन्द्रागिरी हिल्सको ३७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।