
पर्यटन विभागले वितरण गरिरहेको पर्वतीय पथ प्रदर्शक इजाजतपत्र ‘माउन्टेन गाइड लाइसेन्स’ वितरण कार्य स्थगित भएको छ ।
विभागद्वारा आज जरुरी सूचनामा अदालतको उत्प्रेषणको आदेश जारी भएको भन्दै अर्को सूचना नआएसम्म परिचयपत्र वितरणसँग सम्बन्धित सम्पूर्ण कार्य स्थगित गरिएको जनाएको हो ।
विभागले नेपालको पर्वतीय पर्यटनलाई थप व्यावसायिक, मर्यादित तथा व्यवस्थित गर्नका लागि केहीदिन अघिदेखि पर्वतीय पथ प्रदर्शक इजाजतपत्र उपलब्ध गराएको थियो । पहिलो इजाजतपत्र विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पाले पाएका थिए ।
विश्वविख्यात आरोहीको चिरस्मरण हुनेगरी आरोहणलाई व्यवस्थित बनाउने उद्देश्यले शुरु गरिएको परिचयपत्र अदालतको आदेशका कारण हाललाई स्थगित गरिएको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।