उच्च स्तरीय सुरक्षा तालिम सोमबारदेखि सुरु भएको छ । शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा बलाधिकृत रथी प्रभुराम शर्माले तालिमको शुभारम्भ गरेका हुन् ।
रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको तालिमको समुद्घाटन समारोहमा मन्तव्य राख्दै शर्माले यस प्रकारको उच्च तहको तालिमबाट सहभागीहरूमा राष्ट्रिय सुरक्षा सम्बन्धी विविध विषयहरुमा विस्तृत रुपमा ज्ञान प्राप्त हुने बिश्वास ब्यक्त गरे ।
कार्यक्रमको सुरुवातमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले स्वागत मन्तव्य राखेका थिए ।
चैत्र ३१ गतेसम्म सञ्चालन हुने तालिममा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा सुरक्षा निकायहरूका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरु, विश्व विद्यालय तथा शिक्षण संस्थाहरु, नेपाल रेडक्रस सोसाइटी तथा राष्ट्रिय समाचार समितिका गरी जम्मा २७ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको सेनाले जनाएको छ ।