०९ साउन २०८३, शनिबार

स्थानीय निर्वाचनका बारेमा प्रवासी नेपाली के भन्छन् ?

कात्तिक २०, २०७४
स्थानीय निर्वाचनका बारेमा प्रवासी नेपाली के भन्छन् ?

बार्सिलोना (स्पेन), ११ जेठ — प्रवासी नेपालीले नेपालमा २० वर्षपछि भएको स्थानीय निर्वाचन स्वतन्त्र र धाँधलीरहित रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् ।


वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय निर्वाचन केही ठाउँमा बूथ कब्जाको प्रयास र सामान्य झडपबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न गराएकोमा उनीहरूले नेपाल सरकार तथा निर्वाचन आयोगलाई धन्यवाद व्यक्त गरेका छन् ।

लोकान्तरले यहाँ केही नेपालीहरूको विचारको सारसंक्षेप पस्किएको छ ।

स्पेनवासी नेपाली एवं स्पेनका लागि नेपाली पर्यटनदूत दीपक खरेल भन्छन् : 
‘बीस वर्षपछि स्थानीय निकायको निर्वाचन हुनु सम्पूर्ण नेपाली जनताको जीत र लोकतन्त्रको स्थापना हुनु हो । दुई दशकपछि जनताले आफ्ना स्थानीय नेता चुन्न पाएका छन् । समग्रमा कुन राजनीतिक पार्टीले जित्यो भन्दा पनि यो सम्पूर्ण नेपालवासीको जित हो । हामी जस्ता सर्वसाधारणले मुलुकमा परिवर्तन चाहेका छौं । समृद्घ मुलुक बनाउन र परिवर्तन ल्याउनका लागि निर्वाचन आवश्यक जनमत निर्माणका लागि अपरिहार्य भएकाले दोस्रो चरणको निर्वाचन पनि समयमै शान्तिपूर्ण तरिकाबाट सम्पन्न गर्न सबै मिलेर प्रयत्न गरौं ।’

त्यस्तै, शास्त्री टीकाराम कँडेल भन्छन् : 
दुई दशक लामो समयदेखि जनप्रतिनिधिविहीन स्थानीय निकायमा एक किसिमको खुशियाली आएको छ । अब आउने जनप्रतिनिधिहरूले जनमतको सम्मान गर्दै समृद्ध नेपाल बनाउनेमा हामी प्रवासी नेपालीहरू आशावादी छौं । जननिर्वाचित प्रमुखहरूले गाउँपालिका, नगरपालिका, महानगरपालिकाको मात्र प्रमुख नभएर आर्थिक क्रान्तिसहित समृद्ध आफ्नो गाउँ आफैं बनाऊँ भनेर अगाडि बढ्दै पुरानो नेपालको अनुहार फेर्नेमा आशावादी छौं ।’

एनआरएन उपाध्यक्ष राजु थापा भन्छन् :
‘देशमा अराजकता र कर्मचारीतन्त्र मौलाउँदै गएको अवस्थामा स्थानीय निकायको निर्वाचनले नेपाली जनतामा एउटा नयाँ उत्साह पलाएको छ । दण्डहीनताको अन्त्यसँगै स्थानीय निकायको निर्वाचनले संविधानसभाको मर्मअनुरूप संविधान कार्यान्वयन भएको अवस्थामा जनताले आफ्नो प्रतिनिधि चुन्ने मौका पाएका छन् । मुलुक परिवर्तनका लागि जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले जनभावना अनुरूप काम गर्नेमा आशावादी छांै । जनभावना अनुरूप पहिलो चरणको स्थानीय निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको र दोस्रो निर्वाचन पनि तोकिएकै मितिमा सम्पन्न गर्न आग्रह गर्दछु ।’

समाजसेवी युवा धिरज शर्मा भन्छन् :
आजको आवश्यकता भनेकै परिवर्तन हो, समृद्ध नेपाल निर्माणका लागि जननिर्वाचित प्रतिनिधि आवश्यक हुन्छन् । आर्थिक क्रान्तिमार्फत समृद्ध नेपाल हाम्रो परिकल्पना भएकाले संविधान कार्यान्वयनका लागि भएको यो स्थानीय निकायको निर्वाचन सम्पन्न भएकोमा खुशी छु । स्थानीय निर्वाचन हुनु भनेको नेपाली जनताको जीत हो, अग्रगामी परिवर्तन चाहने नेपालीहरूको जीत हो । दश वर्षे सशस्त्र द्वन्द्व गरेको माओवादीले राजनीतिक दलहरूसँगको सहकार्यमा विस्तृत शान्ति सम्झौतामार्फत ल्याएको गणतन्त्रमार्फत बनेको संविधान आज कार्यान्वयनतर्फ लम्कँदै गरेको अवस्थामा नेपाली जनताले आफ्नै जनप्रतिनिधि पाएकोमा प्रवासी नेपाली मन खुशीले गदगद छ । अब मुलुकमा परिवर्तन आउनेछ । तर जनताले आफ्नो जनप्रतिनिधिहरूलाई बेलाबेलामा घचघच्याउनु र खबरदारी गर्नुपर्छ । जे होस्, प्रतिकूलताका बाबजुद निर्वाचन गराएकोमा नेपाल सरकार तथा निर्वाचन आयोगलाई धन्यवाद ।’
यस्तै, लोकान्तरले हल्यान्डवासी केही प्रवासी नेपालीहरूसँग पनि स्थानीय निर्वाचनका बारेमा कुराकानी गरेको थियो । उनीहरूको भनाइको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

व्यवसायी वेदराम कँडेल भन्छन् :
दुई दशकपछि नेपाली जनताले आफ्नै जनप्रतिनिधि चुन्ने मौका पाएका छन् । हामी प्रवासी नेपालीहरू स्थानीय निर्वाचनबाट खुशी छौं । संविधान कार्यान्वयनमा जोड दिँदै नातावाद कृपावाद भन्दा पनि समृद्ध नेपाल निर्माणमा सबैले दलगत स्वार्थभन्दा माथि उठेर मुलुकलाई शान्ति, समृद्धि र आर्थिक क्रान्तितर्फ बढाउनु आजको आवश्यकता हो । विगतमा सबै राजनीतिक शक्तिहरू मिलेर परिवर्तन ल्याएजस्तै एकपटक सबै मिलेर दलगत भन्दा पनि समृद्ध नेपाल हाम्रो अभियान भनेर अगाडि बढ्नु आजको आवश्यकता हो । यो निर्वाचनले सबै प्रवासी नेपालीमा खुशी ल्याएको छ ।’

व्यवसायी केशवराज पाण्डे भन्छन् :
स्थानीय निर्वाचनले हामी प्रवासी नेपालीमा एकदमै धेरै खुशी ल्याएको छ । समग्रमा भन्दा संविधान कार्यान्वयनमा जोड दिँदै सबैले मिलेर अगाडि बढ्नुपर्छ । स्थानीय निकायको पहिलो चरणको निर्वाचन सम्पन्न भएजस्तै दोस्रो चरणको पनि सबै मिलेर तोकिएकै समयमा शान्तिपूर्ण तरिकाबाट हुनुपर्छ । त्यसका लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्दै सम्पन्न गर्नुपर्छ । नेपाल सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिन्छु ।’

त्यस्तै, डेनमार्कवासी युवा नेपाली रमेश राना भन्छन् :
स्थानीय निकायको निर्वाचनले हामी प्रवासी नेपाली जनतामा खुशी ल्याएको छ । अब जननिर्वाचित प्रतिनिधिहरूले देशमा आर्थिक समृद्धि एवं नयाँ क्रान्ति ल्याउनेमा आशावादी भन्दै दोस्रो स्थानीय निकायको निर्वाचनसमेत शान्तिपूर्ण तरिकाबाट सम्पन्न गर्न सबैले सबै क्षेत्रबाट सहयोग गर्न आग्रह गर्छु ।’

यही क्रममा पोर्चुगलवासी लक्ष्मण चापागाईं भन्छन् :
स्थानीय निकायको निर्वाचनले हामी खुशी छौं । नयाँ जनप्रतिनिधिहरूले आआफ्नो क्षेत्रको विकासमा लाग्नुपर्छ । मुलुकमा नयाँ परिवर्तन आजको आवश्यकता हो । जनप्रतिनिधिलाई हाम्रो समाजले बेलाबेलामा खबरदारी सहित निगरानी गर्नुपर्छ । हाम्रो देशमा रोजगारीको अवसर सिर्जना गरेर अनि समृद्ध नेपाल निर्माण गरेर कोही पनि नेपाली पनि विदेशिनु नपर्ने स्थिति आउनुपर्छ । नेपाल सरकार तथा निर्वाचन आयोगलाई विशेष धन्यवाद व्यक्त गर्दछु ।’

salt training

कमेन्ट गर्नुहोस्