
मकवानपुर । बागमती प्रदेशसभाअन्तर्गत रहेका पाँच विभिन्न समितिका सभापतिको आज बसेको संयुक्त बैठकले प्रदेशसभाको अब नियमित बस्ने बैठकलाई प्रभावकारी र सशक्त भूमिका निर्वाह गर्ने कार्यका लागि आगामी आव ०७८÷७९ को बजेटको तर्जुमा गर्ने क्रममा आवश्यक बजेट र थप जनशक्ति उपलब्ध गराउन प्रदेश सरकारका मुख्यमन्त्री, अर्थमन्त्रीसँग छिट्टै छलफल गर्ने निर्णय गरेको छ ।
सो बैठकले प्रदेशसभामा रहेका विभिन्न समितिलाई थप क्रियाशील बनाउन के–कस्तो भूमिकाबाट सञ्चालनमा ल्याउन सकिन्छ र आवश्यकताअनुरुप स्रोतसाधन र जनशक्तिको व्यवस्थापन मिलाउन सकिन्छ भनी प्रदेशसभाका सभामुखसमक्ष प्रतिवेदनसहित आग्रह गर्ने निर्णय गरेको छ ।
उक्त बैठकमा प्रदेशसभाबाट हालसम्म ६० वटा ऐन, कानूनको तर्जुमा गरिएको भए पनि कुनकुन ऐनको प्रयोगबाट जनहितका लागि केके काम भए भनेर अनुगमन गर्न छिट्टै प्रदेशको १३ वटै जिल्लामा क्रमशः विभिन्न समितिका सभापतिको नेतृत्वमा अनुगमन टोली पठाउने सहमति भएको जनाइएको छ ।
सो बैठकले आगामी प्रदेशसभाको बैठकमा प्रदेशसभाका सदस्यले आवश्यक ऐन कानून तर्जुमा गर्नुपर्ने विषयमा केन्द्रित हुने र विभिन्न समितिमा छलफल गरी आवश्यक ऐन कानून पारितका लागि सम्बन्धित निकायमा प्रतिवेदनसहित पठाउन छिटोछरितो गर्ने सहमति गरेको छ । साथै उक्त बैठकले सरकारकोतर्फबाट ल्याइएको सुशासनको भूमिका, भ्रष्टाचार नियन्त्रणका लागि गरिएको प्रयास र जनताका सरोकारका विषयमा सरकारले पु¥याएको स्रोतसाधन परिचालन गरी योजना कार्यान्वयनका विषयमा प्रदेश सरकारसँग केही हप्ताभित्रै विचारविर्मश गरी नयाँ रणनीति तर्जुमा गर्ने पनि उक्त बैठकले पारित गरेको छ ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक सञ्चालनमा सदस्यको भूमिका, चासो र जिम्मेवार बनाउन र विभिन्न समितिलाई थप ऊर्जाशील बनाउने कार्यका लागि र संसद् सचिवालयलाई अब थप बजेट तथा जनशक्ति उपलब्ध गराउँदै संसद्को भूमिकालाई जवाफदेही बनाउन संयुक्त बैठकको आयोजना गरिएको बताए ।
उक्त अवसरमा प्रदेश मामिलाका सभापति माधवप्रसाद पौडेल र अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले विभिन्न समितिलाई थप गतिशील प्रभावकारी र जवाफदेही बनाउनेतर्फ पनि सरकारसँग बजेट र आवश्यक जनशक्ति कर्मचारी उपलब्ध गराउन माग गर्ने तथा प्रदेशसभाका सदस्यलाई आवश्यक ऐन, कानून तर्जुमा गर्ने समयलाई उच्च प्राथमिकता दिएर अन्य कामलाई स्थगन गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित बैठक आयोजना गरिएको बताए।
त्यसअवसरमा सार्वजनिक लेखासमितिका सभापति न्हुच्छेनारायण श्रेष्ठले महालेखा परीक्षकको प्रतिवेदन २०७७ को विभिन्न जिल्लामा बेरुजु देखिएकाले सम्बन्धित निकायका कार्यालयका प्रमुखलाई शुक्रबार बस्ने बैठकमा छलफलका लागि बोलाइएको र बेरुजु फछ्र्यौट गर्ने क्रमलाई निरन्तरता दिने र प्रगतिको छिट्टै समीक्षा गरिने पनि उल्लेख गरे ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले प्रदेशसभाको केही महीनाअघिदेखि स्थगन भएको सातौँ अधिवेशन बैठक चैतको अन्तिम साता सञ्चालन गर्ने क्रममा चैत २० गते दिनको १ बजे प्रदेशसभाको कार्यपरामर्श समितिको बैठक प्रदेशसभा सचिवालयमा बस्ने तयारी गरिएको बताए ।
सो संयुक्त बैठकमा प्रदेशसभाका सभामुख श्रेष्ठ, प्रदेश मामिला समितिका सभापति पौडेल, अर्थ तथा विकास समितिका सभापति नेपाल, सार्वजनिक लेखा समितिका सभापति श्रेष्ठ, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेमगर र प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काको सहभागिता थियो ।