
संसारका वैज्ञानिकहरू अन्तरिक्षबाट आएको गोस्ट पार्टिकल भनिने मायावी कणको खोजीमा लागेका छन् ।
त्यस खोजलाई अघि बढाउन उनीहरूले संसारको सबभन्दा गहिरो तालमा नयाँ टेलिस्कोप लगाएका छन् । रुसमा रहेको बाइकाल तालमा एक माइलको गहिराइमा टेलिस्कोप राखिएको हो ।
गोस्ट पार्टिकल खोज्न र हेर्न निकै चुनौतीपूर्ण हुनाले यसलाई मायावी कण भनिएको हो । यो अतिसूक्ष्म कणलाई न्युट्रिनो भनिन्छ । यसको भार नगण्य हुन्छ र यसमा कुनै चार्ज पनि हुँदैन ।
ब्रह्माण्डमा भएका धेरैजसो न्युट्रिनोको निर्माण बिग ब्यांग अर्थात् ब्रह्माण्डको जन्मको बेलामा भएको थियो ।
यी कणहरूको अध्ययनले वैज्ञानिकहरूलाई अहिलेको ब्रह्माण्ड किन यस्तो देखिन्छ र डार्क म्याटर जस्ता रहस्यमीय शक्तिहरू के हुन् भन्ने विषयमा संकेत प्राप्त हुनेछ ।
न्युट्रिनो ब्रह्माण्डमा सबभन्दा धेरै भेटिने कण हो । हाम्रो शरीरमा प्रत्येक सेकेन्ड १० खर्ब न्युट्रिनो कण ओहोरदोहोर गर्छन् । यिनलाई पत्ता लगाउन मुश्किल छ किनकि यी कतै पनि नटाँसिई पदार्थ हुँदै ओहोरदोहार गर्छन् ।
न्युट्रिनो चुम्बकीय क्षेत्रबाट प्रभावित हुँदैनन् र उनीहरू तटस्थ रही कुनै कुरासँग पनि इन्टरयाक्ट गर्दैनन् । यिनीहरू प्रकाशको गतिबाट काम ओहोरदोहोर गर्छन् ।