
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्राप्त नगरेका सेवाग्राहीले सेवा शुल्क र त्यस वापतको कुनै जरिवाना तिर्नु नपर्ने बताएका छन् । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण आयोजनाको समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै आज उनले यस्तो बताएका हुन् ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सम्बोधनका क्रममा उपत्यकाका धेरै घरहरुमा एक थोपा पानी नआउँदा पनि उपत्यकावासी पानीको शुल्क र जरिमाना तिर्न बाध्य भएको भन्दै त्यस्ता सेवाग्राहीलाई शुल्क–जरिमाना मिनाहा गर्न कार्यक्रममा उपस्थित राष्ट्रपति र प्रधानमन्त्री समक्ष प्रस्ताव राखेका थिए । प्रमुख शाक्यको उक्त प्रस्तावप्रति ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री ओलीले सेवा प्राप्त नगरेका सेवाग्राहीबाट सेवामा शुल्क र अझ त्यसमा पनि जरिवाना लिने गरेको कुरा सुन्दा अचम्म लागेको बताए । ‘जसले सेवा नै प्राप्त गरेको छैन उसले सेवा नै प्राप्त नगरी सेवा शुल्क तिर्ने कुरा हुनै सक्दैन । यो भएको छ भने सच्याइने छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो कुनै पनि निकायबाट भएको छ भने भन्न चाहन्छु, जहाँ सेवा दिएको छैन त्यहाँ सेवा शुल्क लिन पाइदैन । जुन सेवा लिन मिल्दैन त्यो सेवामा जरिमाना गर्न झन मिल्दैन ।’
उनले सेवाग्राहीलाई सेवा दिन नसक्नु सरकारको कमजोरी भएको भन्दै त्यस्तो अवस्थामा सेवाग्राहीलाई जरिमाना तिराउने कुरा सम्भव नहुने बताए । ‘सरकारले सेवा उपलब्ध गराउन सकेको छैन । सेवा पुर्याउन नसकेकोमा क्षमा याचना गर्नुपर्ने ठाउँमा उल्टै जरिमाना सरकारले तिराउने कुरा हुँदैन,’ उनले भने, ‘सेवा प्राप्त नगरेका सेवाग्राहीले सेवा शुल्क पनि तिर्नु पर्दैन र त्यस वापत कुनै जरिमाना पनि तिर्नुपर्दैन ।’
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले आजको दिन काठमाडौँबासीका लागि उत्साह दिन भएको भन्दै यस्तो उत्सवमा सहभागी हुन पाउँदा खुशी लागेको बताए ।