२५ जेठ २०८३, सोमबार

मेलम्चीको पानी औपचारिक वितरण शुरू

चैत २१, २०७७
मेलम्चीको पानी औपचारिक वितरण शुरू

 सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दुई दशकको प्रयासपछि ल्याइएको पानी काठमाडौं उपत्यकामा औपचारिक रूपमा वितरण सुरु गरिएको छ । सुरुङ, सुन्दरीजल पानी प्रशोधन केन्द्र र चक्रपथमा बिछ्याइएको थोक वितरण पाइपलाइनको सफल परीक्षणपछि मेलम्चीको पानी काठमाडौंवासीका धारासम्म पु-याइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाडौं उपत्यकामा वितरण गरिने मेलम्ची खानेपानी वितरण कार्यक्रमको उद्घाटन गरेकी छन् । भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरेकी हुन् । ‘प्रजातन्त्रको पुनस्र्थापनापश्चात् तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको परिकल्पनाबाट मेलम्ची आयोजना सुरु भएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले केपी शर्मा ओली सरकारको दृढ इच्छाशक्ति र तत्परताका कारण यो आयोजना सम्पन्न हुन सकेको बताइन् ।

यसअघि गत १५ चैतबाट मेलम्चीको पानी वितरण सुरु गरिएको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को पुरानै सिस्टमबाट पानी वितरण हुँदै आएको छ । मेलम्चीको पानी वितरणका लागि नयाँ पाइपलाइन बिछ्याइएको भए पनि परीक्षण नभइसकेका कारण पुरानै प्रणालीबाट परीक्षण वितरण गरिएको हो ।

राष्ट्रपति भण्डारीले पानी वितरणको औपचारिक उद्घाटन गरेसँगै शुक्रबारबाटै लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर पानी वितरण सुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाइएको लिमिटेडले जनाएको छ ।

लिमिटेडले शुक्रबारदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने जनाएको छ । योसँगै अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ ।

पहिलो चरणमा पुरानो महांकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण सुरु गरिएको थियो । लिमिटेडले पहिलो चरणमा दैनिक ४ करोड लिटर ल्याइएकामा अहिले दैनिक साढे ८ करोड लिटर आइरहेको जनाएको छ ।

यसअघि, गत २२ फागुनमा मेलम्चीबाट सुरुङमा खसालिएको पानीको परीक्षण गरिएको थियो । परीक्षणका लागि १० फागुनमा सुरुङमा खसालिएको सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको पानी २२ फागुनमा काठमाडौंको सुन्दरीजल आइपुगेको थियो । उक्त पानी प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको थियो ।

पूर्वप्रधानमन्त्री एवं कांग्रेस नेता स्व. कृष्णप्रसाद भट्टराईले २०५१ सालको मध्यावधि चुनावमा काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने वाचा गरेपछि यसको परिकल्पना अघि बढेको थियो । मेलम्ची आयोजनाको सुरु २०५८-५९ सालमा नै भएको थियो । आयोजना सुरु गर्दा २०६४÷६५ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

भृकुटीमण्डपमा आयोजित पानी वितरण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रूपमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याई वितरण गर्ने प्रतिबद्धता जाहेर गरेपछि यस आयोजनाले थप महŒव र प्रचार पाएको बताइन् । उनले त्यस अवसरमा मुलुकको नेतृत्व तहलाई आयोजना कार्यान्वयन गर्न प्रेरणा मिलेको समेत जनाइन् ।

देश प्रगतिको दिशामा : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको सफलतासँगै देश अब प्रगतिको नयाँ दिशामा अघि बढेको बताए । मेलम्ची उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अब विकास र समृद्धिको यात्रामा कसैले अवरोध गर्न नसक्ने स्पष्ट पारे ।

उनले प्रधानमन्त्री बन्न नपाउँदा प्रतिगमन हुने र बन्न पाउनेबित्तिकै क्रान्ति भन्ने हौवा नफिजाउन आग्रह गरे । देश प्रगतिको दिशामा अगाडि बढिरहेका बेला प्रतिगमन भयो भन्दै स्यालहुँइया नमच्चाउन उनले आग्रह गरे । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्