
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले चितवनको गैंडा गणनामा ध्रुवे नाम गरेको जंगली हात्तीको आक्रमणमा परी घाइते भएका कर्मचारी तथा गणकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।
मन्त्री आलेले शनिवार राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख डा. दीपककुमार खराललाई भेट गरी घाइते भएका कर्मचारीको उपचारमा कुनै पनि समस्या आउन नदिनका लागि पहल चाल्न निर्देशन दिए ।
गैंडा गणना कार्यमा निकै सजगता अपनाउन समेत उनले सबैमा आग्रह गरेका छन् ।
मन्त्री आलेले धु्रवे नाम गरेको जंगली हात्ती कुन ठाउँमा छ त्यसबारे यकीन जानकारी लिएर तथा आफ्नो सुरक्षा व्यवस्था मजबुद बनाएर मात्रै गैंडा गणनाको कार्य अगाडि बढाउन समेत निर्देशन दिए ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएको टोलीलाई जंगली हात्तीले शुक्रवार लखेटेपछि हात्तीबाट खसेर ५ जना घाइते भएका थिए ।
राष्ट्रिय निकुञ्जका प्रमुख डा. खरालका अनुसार धु्रवे हात्तीले लखेटेर घाइते हुनेमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाही जिल्ला हरिपुर नगरपालिका–७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौतहट चन्दनपुर नगरपालिका–७ का ५१ वर्षीय पे्रमलाल कहार चौधरी रहेका छन् ।
घाइतेमध्ये राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी श्रेष्ठको अवस्था गम्भीर रहेको र उनको काठमाडौंस्थित हेम्स अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
जंगली हात्तीको आक्रमणमा परी गैंडा गणनामा गएका कर्मचारी घाइते भएपछि शनिवार १ दिनका लागि सो क्षेत्रको गैंडा गणना कार्य रोकिएको प्रमुख डा. खरालले जानकारी दिए ।