१२ असार २०८३, शुक्रबार

राष्ट्रपति भण्डारी र झलनाथ खनालबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र झलनाथ खनालबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता भलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।

शनिवार दिउँसो डल्लुस्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्व प्रधानमन्त्री खनालले बताए । खासगरी राष्ट्रपति भण्डारी खनालको छिमेकमा रहेका इतिहास संशोधन मण्डलका अध्येता एवं प्रबद्र्धकहरू दिनेश पन्त र महेश पन्तको घरमा पुगेका र सोही क्रममा आफ्नो घरमा समेत भेट्न आएका खनालले बताए ।

भेटमा राष्ट्रपति भण्डारीले पार्टीमा देखिएको विवाद समाधान भएर जाओस् भन्ने चाहना रहेको बताएका पनि पूर्व प्रधानमन्त्री खनालले बताए । उनले भने, ‘हामीले एकछिन भलाकुसारी गर्‍यौं । विगतका कुराहरू पनि हामीले गर्‍यौं । अहिलेको वर्तमान स्थितिको बारेमा पनि अलिकति कुराकानी गर्‍यौं । उहाँले पार्टी आन्दोलन एकतावद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस्, मेरो राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुराहरू व्यक्त गर्नुभयो ।’

भेटमा आफ्नो स्वास्थ्यप्रति पनि राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेका खनालले बताए । तर आफूले आफ्नो स्वास्थ्यभन्दा पनि पार्टी र कम्युनिस्ट आन्दोलनबारे चिन्ता लागेको कुरा राखेको बताए ।

‘हाम्रो आफ्नो व्यक्तिगत स्वास्थ्यको बारेमा मलाई चिन्ता होइन चिन्ता चाहिँ पार्टीको बारेमा लागेको छ, कम्युनिस्ट आन्दोलनको स्वास्थ्यको बारेमा चिन्ता छ । अब यस्तो अहिले पार्टीमा कतिपय समस्याहरू उत्पन्न भइरहेको बेलामा यहाँ आउनुभएको छ । सबै पार्टीहरू बलिया भए, सुदृढ भए एकतावद्ध भए भने मात्रै लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो हुनु भनेको हाम्रो बहुदलीय व्यवस्था अथवा लोकतान्त्रिक गणतन्त्र बलियो हुनु भनेको पार्टीहरू बलियो हुने कुरा हो । पार्टी बलियो नभइकन लोकतन्त्र बलियो हुँदैन, त्यसकारण कसरी पार्टीलाई बलियो बनाउने भन्ने कुरामा म पनि सोचिरहेको छु । राष्ट्रपतिज्यूले पनि के भन्नुभयो भने तपाईंले भनेजस्तो लोकतन्त्र बलियो बनाउनलाई पार्टीहरू नै बलियो हुनुपर्छ । सबै पार्टीहरू बलिया हुन, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस् र नेकपा एमाले पनि बलियो होस् भन्ने नै मेरो चाहना रहेको हो । तपाईंहरू अहिले पनि सकेसम्म मिलेर जानुहोस् भन्ने सुझाव दिनुभयो ।’

salt training

कमेन्ट गर्नुहोस्