
शेयर बजारमा नेप्से परिसूचक र बजार पुँजीकरणले आइतबार नयाँ रेकर्ड बनाएका छन् । यसअनुसार नेप्से परिसूचक २ हजार ६ सय ५७.७१ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आइतबार नेप्से करिब २६ अंक बढेको हो ।
यसअघि गत फागुन ९ मा नेप्से उच्च २ हजार ६ सय ४० विन्दुमा पुगेर ओरालो लागेको थियो । आइतबार उक्त विन्दु पनि पार गरेर नयाँ रेकर्ड बनाएको हो ।
यससँगै नेपालको शेयर बजारको आकार आइतबार ३६ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । नेप्से परिसूचक निरन्तर बढेपछि शेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि हालसम्मकै उच्च पुगेको हो । आइतबार कायम भएको कुल बजार पुँजीकरण नेपालका कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ९८ प्रतिशत हो । यो अनुपात पनि हालसम्मकै उच्च हो ।
आइतबार शेयर बजारमा पनि ९ अर्ब रुपैयाँभन्दा केही बढीको शेयर कारोबार भएको छ । यो करिब ९० हजार कारोबारबाट २ सय १२ कम्पनीका १ करोड ८१ लाख ७३ हजार कित्ता शेयर किनबेच भए । कारोबार रकम केही सातायताकै उच्च हो । विगतमा १० अर्ब ६१ करोडभन्दा बढीको शेयर कारोबार भएको नेप्सेमा पछिल्लो केही समय कारोबार रकममा कमी आएको थियो । आइतबार नेप्सेमा गत माघ २६ यताकै सर्वाधिक रकमको कारोबार भएको हो । गत बिहीबार शेयर बजारमा ७ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेको वर्गीकरणमा ‘क’ वर्गका कम्पनीहरूको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक आइतबार ०.९३ प्रतिशतले बढ्यो । सो दिन व्यापारमा रहेका सबै कम्पनीको शेयर कारोबार मापक फ्लोट परिसूचक ०.९९ प्रतिशतले बढेको छ । सामान्यतया चैत महिना शेयर बजारका लागि त्यत्ति उपयुक्त मानिँदैन । चैतको अन्त्यमा निजी क्षेत्रबाट ठूलो रकम करबापत सरकारी खातामा जाने, शेयर धितोमा कर्जा लिएका लगानीकर्ताले बैंक तथा वित्तीय संस्थालाई ब्याज भुक्तानी गर्नुपर्नेलगायत कारण शेयर बजारमा प्रतिकूल प्रभाव पर्ने गरेको थियो । तर अहिले बजारमा बेग्लै प्रवृत्ति देखिएको छ । हरेक दिनजसो बजारले नयाँ रेकर्ड बनाउँदै गएको छ ।
चैतमा पनि बजार बढ्नुलाई लगानीकर्ताले सकारात्मक संकेतका रूपमा विश्लेषण गर्न थालेका छन् । तर वित्तीय प्रणालीमा भने अधिक तरलता घट्न थालेको छ । लामो समयसम्म यही क्रम चलिरहे बजारमा ब्याजदर बढ्ने प्रक्षेपण गरिएका छन् । तर बैंकरहरू भने तत्कालै कर्जाको ब्याजदर नबढ्ने दाबी गर्छन् ।आइतबार निर्जीवन बिमा उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् ।
व्यापारिक उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो दिन निर्जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक ३.९७ प्रतिशत बढेको छ भने व्यापारिक उपसमूहको सबैभन्दा धेरै ४.३९ प्रतिशतले घटेको छ । लगानी उपसमूहको परिसूचक २.३५, होटल्स तथा पर्यटनको ०.८४, उत्पादन तथा प्रशोधनको ०.१५ र सामूहिक लगानी कोषको ०.८६ प्रतिशतले घटेको छ । यो दिन ‘अन्य’ उपसमूहको परिसूचक ३.४१, वित्त कम्पनीको ३.६६, जलविद्युत्को १.५, बैंकिङको ०.८१, विकास बैंकको ०.८४, लघुवित्तको ०.४७ र जीवन बिमाको ०.८९ प्रतिशत परिसूचक बढ्यो । कान्तिपुर दैनिकमा खबर छ ।