२८ जेठ २०८३, बिहीबार

क्रिकेट : फेक फील्डिङको शिकार भए पाकिस्तानी ब्याट्स्म्यान फखर जमान (भिडियो)

चैत २३, २०७७
क्रिकेट : फेक फील्डिङको शिकार भए पाकिस्तानी ब्याट्स्म्यान फखर जमान (भिडियो)

पाकिस्तानी ब्याट्स्म्यान फखर जमानले करीरयकै सर्वोत्कृष्ट ब्याटिङ गर्दै आइतवार जोहानेसबर्गमा दक्षिण अफ्रिकी बलरहरूलाई अत्त्याएको भए पनि म्याचचाहिँ जिताउन सकेनन् । 

दोस्रो एकदिवसीयमा ३४२ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान १७ रनले पराजित हुन पुग्यो । 

जमानले १५५ बलमा १९३ रन बनाए अनि अन्तिम ओभरमा रन आउट भए । चेज गर्दाखेरी सबभन्दा धेरै रन बनाउने कीर्तिमान जमानले बनाएका छन् । यसअघि शेन वाट्सनले चेज गर्दा १८५ नटआउट बनाएका थिए । 

तर पाकिस्तानका अन्य ब्याट्स्म्यानले साथ नदिँदा जमान निराश हुनुपर्‍यो । दोस्रो सर्वाधिक स्कोर बाबर आजमको ३१ रन रह्यो । त्यसपछिको स्कोर २५ अतिरिक्त रन थियो । 

जमानलाई रनआउट गराउन दक्षिण अफ्रिकाका विकेटकीपर क्विन्टन डीककले खेल भावनाको विपरीत गई फेक फील्डिङ गरे । 

उनले बलर लुंगी न्गिदीतर्फ औंला तेर्स्याए जबकि फील्डर आइडन मारक्रमले बल कीपरतर्फ फ्याँके । जमानले आफू कुदिरहेको एन्डतिर बल फ्याँकिदैन होला भन्ने सोचेर सुस्त दौडिँदा क्रीजबाहिरै रहेर रनआउट भए । 

फेक फील्डिङ भन्नाले कुनै पनि फील्डरले आफ्नो शरीरको अंगलाई हल्लाएर ब्याट्स्म्यानलाई गल्ती गर्नका लागि झुक्याउने काम हो । 

क्रिकेट नियमअनुसार, यसरी ब्याट्स्म्यानलाई झुक्याउनु अनफेयर हो । 

उत्कृष्ट ब्याटिङका लागि जमान म्यान अफ द म्याच घोषित भए तर पाकिस्तानले खेल हारेकाले उनी निराश रहे ।
 

salt training

कमेन्ट गर्नुहोस्