२५ जेठ २०८३, सोमबार
श्वास लिनै मुस्किल

देशभर प्रदूषण उच्च बिन्दुमा, डाक्टर भन्छन्– ‘मर्निङवाक नगर्नुस्, यस्ता खतरा छन्’

देशभर प्रदूषण उच्च बिन्दुमा, डाक्टर भन्छन्– ‘मर्निङवाक नगर्नुस्, यस्ता खतरा छन्’

पछिल्लो केही समययता धूलोधूवाँका कारण भएको वायु प्रदूषण तथा तुवाँलोका कारण राम्रोसँग घाम लाग्न सकेको छैन । 

यसले गर्दा रुघाखोकीका बिरामी बढिरहेका छन् । काठमाडौं उपत्यकालगायत देशभरको वायु प्रदूषण उच्च बिन्दुमा पुगेको छ । 

अहिले उपत्यकालगायत देशभर मर्निङ वाक नगर्न डाक्टरहरूले सुझाएका छन् । 

वातावरण विभागले १० दिन अघिदेखि देशका विभिन्न ठाउँमा वायु प्रदूषणको स्तर अत्यधिक बढेकाले सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको छ । 

विभागले प्रेस विज्ञप्ति जारी गर्दै बालबालिका, जेष्ठ नागरिक, दमजस्ता स्वाशप्रश्वाससम्बन्धी समस्याका बिरामीहरूलाई त झन घर बाहिर ननिस्कन आग्रह गरेको छ । 

काठमाडौं, पोखरा, धनगढीलगायतका ठाउँमा वायु प्रदूषण उच्च बिन्दुमा पुगेको वातावरण विभागले जनाएको छ ।

मर्निङ वाक नगर्नुस्ः डा. सविन कोइराला

ह्याम्स अस्पताल सघन उपचार कक्षमा कार्यरत विषेशज्ञ डा. सविन कोइरालाले वायु प्रदूषणको समयमा बिहान मर्निङ वाक नगर्न सुझाएका छन् । 

‘अहिले वायुमा अत्यधिक प्रदूषण छ, यस्तो समयमा मर्निङवाक नगरेकै राम्रो हुन्छ,’ डा. कोइरालाले लोकान्तरसँग भने, ‘बिहान ओसिलो र तुवाँलोले धूलो तल्लो सतहमा ल्याएको हुन्छ ।’

यस्तो समयमा सकेसम्म घरभित्र व्यायाम गर्नुपर्ने डा. कोइरालाले बताए । 

कोइरालाका अनुसार पछिल्लो केही दिनयता उपत्यका र उपत्यका बाहिरका शहरहरूमा वायु प्रदूषण बढिरहेको छ । विषेशतः फोक्सोको समस्या देखिन्छ, अर्थात् साइनोसाइटिस समस्या देखिन्छ । 

अहिलेको वायु प्रदूषणले तत्कालै देखिने समस्या र दीर्घकालमा देखिने समस्या गरी २ प्रकारका समस्या देखिने डा. कोइरालाले बताए । 

उनका अनुसार तत्कालीन हुने समस्यामा एलर्जी तथा स्वासप्रश्वासमा समस्या, दमका रोगीहरूलाई अक्सिजनको लेभल घटबढ हुने, रुघाखोकी लागिरहने, नाक बन्द हुने लगायतका समस्याहरू देखिन्छन् । 

दीर्घकालमा हुने समस्या झन् खतरनाक हुन्छ । वायुमा भएका स–साना कणहरू हाम्रो फोक्सोमा गएर बस्छन् । यसले गर्दा भित्र असर गर्छ । 

‘हाम्रो नाकले १० पीपीएमभन्दा बढीका कणहरू छेक्न सक्छ, त्यस्ता कणहरूलाई र्‍यालले पनि छेक्छ, १० पीपीएमसम्मका कण फोक्सोको भित्री भागसम्म पुग्नसक्छ । अझै २ पीपीएमका स–साना कणहरूले दीर्घकालसम्म गम्भीर असर गर्नसक्छ,' डा. कोइरालाले लोकान्तरसँग भने ।

यस्तै प्रदूषण १० वर्षसम्म भइरह्यो भने अधिकांश मानिसहरू दमको रोगी हुने कोइरालाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्