०७ असार २०८३, आइतबार

जेठ–असारमा कोरोना फेरि उच्च विन्दुमा पुग्नसक्ने सरकारी अनुमान

चैत २४, २०७७
जेठ–असारमा कोरोना फेरि उच्च विन्दुमा पुग्नसक्ने सरकारी अनुमान

कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको भारतबाट स्वदेश फर्किने नेपालीको संख्या बढ्दा संक्रमणको जोखिम उच्च भएको छ ।

खुला सीमाका कारण निर्बाध आवतजावत भइरहँदा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

भारतबाट रोजगारी गरेर फर्किएका व्यक्तिमा दैनिक कोरोना संक्रमण पुष्टि हुन थालेको छ । कञ्चनपुरको त्रिनगर हेल्थ डेस्कमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर सोमवार २६६ जना संक्रमित थपिएका छन् । यीमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन् ।

काठमाडौंमा ९८, ललितपुरमा २६ र भक्तपुरमा १३ जना संक्रमित थपिएका हुन् । उपत्यकामा संक्रमितको संख्या वृद्धि भएपछि कडाइ गरिएको छ । उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

खुला सीमाका कारण निर्बाध ढंगले भारत आवतजावत भइरहँदा संक्रमणको जोखिम उच्च रहेको विज्ञ बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले खुला सीमालाई तत्काल व्यवस्थित नगर्ने हो भने २ महिनाभित्र संक्रमण उच्च वृद्धि हुने बताए ।

भारतमा फागुन १७ गते संक्रमितको संख्या ११ हजार ५६३ थियो । अहिले दैनिक संक्रमितको संख्या १ लाख नाघेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

नेपालका २८ जिल्ला भारतसँग जोडिएका छन् । भारतको महाराष्ट्र राज्य सबैभन्दा बढी प्रभावित देखिएको छ । छत्तीसगढ, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र उत्तराखण्डमा पनि संक्रमण बढ्दैछ ।

‘निश्चित नाका तोकेर स्वदेश आउन दिनुपर्छ । सीमाबाट छिरिसकेका व्यक्तिको एन्टिजेन र पीसीआर परीक्षण गर्नुपर्छ । विगतको गल्ती दोहोर्‍याउनु हुँदैन,’ डा. प्याकुरेलले भने ।

नेगेटिभ आएका व्यक्तिलाई क्वारेन्टीन राखेर १४ दिनपछि घर फर्कन दिनुपर्ने उनको सुझाव छ । पोजिटिभ देखिए उपचारको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले सीमा क्षेत्र व्यवस्थित गरी स्वास्थ्यकर्मी परिचालन गर्न ढिलाइ भएको बताए । ‘नाकाहरूमा कडाइ गर्नुपर्छ,’ डा. मरासिनीले भने, ‘सीमा क्षेत्रमा स्वास्थ्य जाँच गर्नुपर्‍यो । नेपाल छिर्नेको ज्वरो नाप्ने गर्नुपर्‍यो । घर भाडामा लिएर भए पनि आइसोलेसन र क्वारेन्टीनको व्यवस्था गर्नुपर्छ ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमणको जोखिम उच्च रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएका छन् । स्वास्थ्य मापदण्डको प्रभावकारी पालना नगर्ने हो भने आगामी जेठ–असार महिनामा कोरोना संक्रमण पुनः वृद्धि हुने मन्त्री त्रिपाठीको भनाइ छ ।

‘अबका दिनमा जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ–असारमा अर्को उच्च विन्दुुमा पुग्न सक्ने देखिन्छ,’ प्रतिनिधि सभाको सोमवारको बैठकमा मन्त्री त्रिपाठीले भने ।

उनले भारतमा संक्रमणको बढ्दो वृद्धिदरले सरकारलाई थप सचेत र सतर्क बनाएको बताए । कोरोना संक्रमण नियन्त्रण गर्न संक्रमितको पहिचान, आइसोलेसनको व्यवस्था, अनिवार्य क्वारेन्टीनको व्यवस्था गर्नुपर्ने उनले उल्लेख गरे । सावधानी अपनाए कोरोना संक्रमणलाई नियन्त्रणमा राख्न सकिने उनको भनाइ थियो ।

काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमवार बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकाभित्र कोरोना संक्रमण बढ्न नदिन नाकामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षणको व्यवस्था गरिएको बताए ।

हरेक नगरपालिकाले एन्टिजेन परीक्षण गर्ने, नाकाका नगरपालिकाले हेल्थ डेस्क स्थापना गर्ने, शंकास्पद व्यक्तिको पीसीआर परीक्षण  गर्ने र  कन्ट्याक्ट ट्रेसिङलाई व्यवस्थित गर्ने निर्णय बैठकले गरेको छ । सबै नगरपालिकाले आ–आफ्नो नगरपालिकाभित्र कम्तीमा १/१ वटा आइसोलेसन केन्द्र र क्वारेन्टीन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्