२४ जेठ २०८३, आइतबार

कर्णाली कोरिडोरको निर्माण तीव्र

चैत २४, २०७७
कर्णाली कोरिडोरको निर्माण तीव्र

राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ ।

केही महिनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण सडक निर्माणको ट्रयाक खोल्ने कार्य प्रभावित भएको थियो ।

चैतको पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याइसकेपछि धेरै महिनादेखि रोकिएको निर्माण कार्य शुरू भएको सिमिकोट–हिल्सा सडक योजनाका प्रमुख विसुन दास लामाले बताए ।

सिमिकोट–हिल्सा सडक खण्डमा च्याछरा चट्टाने भीर तथा सडकमा रहेका विभिन्न चेनेजमा कडा चट्टानहरु फुटाउने कार्य तीव्र गतिमा भइरहेको छ । २ महिनाभित्र यस खण्डको ‘ब्रेक थ्रू’ भई सिमिकोटदेखि चीनको नाका हिल्सासम्म ९५ किलोमिटर सडक मार्गबाट सजिलै यात्रा गर्न सकिने छ ।

सिमिकोट सल्लिसल्ला खण्डमा रहेको सल्लिसल्लाको भीर ब्रेकर करीब १ महिना लगाएर फुटाइसकेको हुँदा हुम्लाको चंखेली गाउँपालिका हुँदै १२ किलोमिटर ट्रयाक सडक सर्केगाड गाउँपालिकाको दुल्लीकुनासम्मा खुलिसकेको र ट्रयाक्टर समेत पुगिसकेको अवस्था रहेको सपना धुलिखेल जेभी काठमाडौंका आधिकारिक प्रतिनिधिले जानकारी दिए । अब दुल्लीकुनाको भीर फुटाउन कम्प्रेसर, जेनेरेटर लगायतका उपकरण सुर्खेतबाट ल्याउने तयारी भइरहेको र भीर फुटाउने काम समेत चाँडै शुरू हुने उनले जानकारी दिए ।

खार्पुनाथ गाउँपालिकामा रहेको बोक्चेगौंडामा ४०० मिटरको भीरबाट अब एक्साभेटर मशिन छिर्न सक्ने पि एस दि क्याराभान कङ्ग्री जेभीका स्थानीय प्रतिनिधि क्याछोक लामाले बताए । योजना कार्यालय सिमिकोटबाट प्राप्त जानकारीअनुसार अब ट्रयाक खोल्न करीब १५ किलोमिटर मात्र बाँकी छ ।

विशेषगरी असाध्यै अप्ठ्यारो छारे भीर करीब १ किलोमिटर रहेकामा उक्त भीरको एलाइन्मेन्ट छलेर २ वटा बेलिब्रिज पुल जडान गर्न सके र निर्माण व्यवसायीले निर्माण कार्यमा तदारुकता देखाए हुम्ला जिल्लाको सदरमुकाम जोड्ने कार्य अबको १ वर्षभित्र सकिने देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्