बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रका लागि तयार भएको छ ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटबाट वडा नम्बर १ बेगखोला जोड्ने सडक कालोपत्र हुन लागेको हो ।
आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेड जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले कालोपत्र गर्न पूर्वाधार तयार पारेको जनाएको छ ।
निर्माण कम्पनीका सञ्चालक अमृत दाहालले सडक विस्तार, नाली र पर्खाल निर्माण सकेर कालोपत्रका लागि सबबेस बिछ्याउने र रोलरले पेल्ने काम भइरहेको जानकारी दिए ।
‘७ किलोमिटर दूरीको राहुघाट–बेगखोला खण्डको सडक ११ मिटर फराकिलो बनाएका छौं,’ उनले भने, ‘अधिकांश ठाउँमा पर्खाल र नाली निर्माण सकिएको छ । नाली र पर्खाल निर्माण भएको ठाउँमा गिट्टी, बालुवा बिछ्याएर रोलरले पेलिएको छ ।’
आगामी वैशाख–जेठ महिनाभित्रै कालोपत्र सक्ने गरी मजदुर, उपकरण परिचालन र निर्माण सामग्री तयार पारिएको छ । ७ मिटर चौडाइमा डीबीएसटी प्रविधिको कालोपत्र गरिने भएको छ । मुख्य ठेकेदार शर्मा–युनाइटेडले अधुरो बनाएको सो सडक २०७६ माघदेखि ओमकारेश्वरले जिम्मा लिएपछि कामले तीव्रता पाएको हो ।
राहुघाट–बेगखोला खण्डको करीब ७० प्रतिशत भौतिक प्रगति भएको छ । विक्रम संवत् २०७४ साउनदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक ४ वटा प्याकेजमा स्तरोन्नति भइरहेको छ ।
करीब ६ अर्ब रुपैयाँ लागतको आयोजनाको ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ८५ र बेनी–जोमसोम खण्डको ६० प्रतिशत भौतिक प्रगति छ ।
७ प्याकेजको जोमसोम–कोरला खण्डको ४ वटा प्याकेजको काम निर्माण सकिएको आयोेजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बताए । आयोजना अन्तर्गतकै बेनी नगरपालिका–९ गलेश्वरको करीब १ किलोमिटर सडक पनि कालोपत्रका लागि पूर्वाधार तयार पार्ने काम भइरहेको छ ।
गलेश्वर, महभिर र पोखरेबगरको बेलीब्रिज विस्थापित गरेर पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । बेनी–जोमसोमको ४ प्याकेज (भाग) मा छुट्टाछुट्टै निर्माण कम्पनीसँग २ अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको थियो । ३ अर्ब ४० करोड लागत अनुमान गरिएको थियो ।