
नेकपा एमालेको खनाल–नेपाल पक्षका तीन मन्त्रीले राजीनामा दिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा परेका छन् ।
एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पनि खनाल–नेपाल पक्षका तीन मन्त्री शाही नेतृत्वको सरकारमा सहभागी थिए ।
नेकपा एमाले संसदीय दलको निर्देशनपछि आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र पर्यटन मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।
तीन मन्त्रीको राजीनामासँगै शाही नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको छ ।
माओवादी केन्द्रका सांसद शाही नेकपा एमालेको समर्थनमा २०७४ सालमा मुख्यमन्त्री बनेका थिए ।
नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि उनले भारी बहुमत सहित सरकार सञ्चालन गरिरहेका थिए ।
२०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकता भंग गर्दै पार्टी एकताभन्दा अगाडिको अवस्थामा पुर्याइदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
नेकपा एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि शाहीले विश्वासको मत लिने बताएका थिए ।
४० सदस्य रहेको प्रदेश सभामा एमाले एक्लैका २० सांसद छन् । यो अवस्थामा शाहीले कतैबाट पनि बहुमत पुर्याउने सम्भावना छैन ।
माओवादी केन्द्रसँग १३, नेपाली कांग्रेससँग ६ र राप्रपाका एक सांसद छन् । १३ मध्ये पनि धर्मराज रेग्मी पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका छन् ।
अल्पमतमा परेपनि मुख्यमन्त्री शाहीले तत्काल राजीनामा नदिने बताएका छन् ।
तीनजना मन्त्रीले राजीनामा दिइसकेको परिस्थितिबारे लोकान्तरसँग कुरा गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कर्णाली सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले तत्काल राजीनामा नदिने बताए ।
‘अब कसरी अगाडि बढ्ने भन्नेमा हामी छलफलमा छौं, मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुहुन्न’ भण्डारीले लोकान्तरसँग भने ।
मुख्यमन्त्रीविरुद्ध अहिलेसम्म अविश्वासको प्रस्ताव दर्ता भएको छैन ।
नेकपा विवाद उत्कर्षमा पुगेका बेला अविश्वासको प्रस्तावको चर्चा चलेको थियो । मुख्य सचेतक गुलावजंग शाहलाई शाहीले हटाएपछि कर्णालीको विवाद उत्कर्षमा पुगेको थियो ।
पुस ५ गते प्रतिनिधि सभा विघटनपछि कर्णालीको विवाद सेलाएको थियो ।
एमालेले अल्पमतमा परेको भन्दै मुख्यमन्त्री शाहीको राजीनामा माग गरेको छ । कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले अल्पमतमा परिसकेको व्यक्तिले समय बर्बाद गर्नुको औचित्य नभएको बताए ।
शाहीले राजीनामा गरेमा एमालेले नयाँ सरकार गठनको अग्रसरता लिने बताएको छ । २० सांसद रहेको एमालेका लागि बहुमत पुर्याउन १ जनाको समर्थन भए पुग्छ ।