
श्रीलंकाको सुन्दरी प्रतियोगिताको विजेता घोषणा भएपछि मञ्चमै झगडा पर्दा मिसेस श्रीलंका पुष्पिका डी सिल्भाको टाउको फुटेको छ ।
आइतवार डी सिल्भालाई मिसेस श्रीलंका घोषणा गरिएको थियो ।
उनले ताज पहिरेको केही क्षणपछि नै सन् २०१९ मा यो उपाधि जितेकी महिलाले डी सिल्भाको ताज खोसिन् । डी सिल्भा डिभोर्सी भएकाले यस ताजको हकदार नभएको ती महिलाले बताइन् ।
तर पुरस्कार डी सिल्भालाई नै दिइएको छ । सुन्दरी प्रतियोगिताका आयोजकहरूले उनी डिभोर्सी नभएको पुष्टि भएपछि उनैलाई ताज पहिर्याएका हुन् ।
राजधानी कोलम्बोको एक थिएटरमा निर्णायकहरूले डी सिल्भालाई सन् २०२१ को विजेता घोषणा गरेका थिए ।
सन् २०१९ मा यो उपाधि जितेकी क्यारोलाइन जुरीले डी सिल्भाको ताज खोसिन् । प्रतियोगीहरू विवाहित हुनुपर्ने र डिभोर्सी हुनु नहुने नियम डी सिल्भाले तोडेको आरोप उनले लगाइन् ।
उनले रनर अप बनेकी महिलालाई ताज लगाइन् । डी सिल्भा रुँदै मञ्चबाट बाहिरिइन् ।
आयोजकहरूले डी सिल्भासँग माफी मागेका छन् । डी सिल्भा पतिसँग छुट्टिएर बसेको तर डिभोर्स नलिएको बताउँछिन् ।
फेसबूकमा एउटा पोस्ट लेख्दै डी सिल्भाले उक्त घटनापछि टाउको फुटेकाले उपचारका लागि अस्पताल जानुपरेको लेखिन् ।
आफूविरुद्ध अपमानजनक व्यवहार गरिएको भन्दै उनले कानूनी कारवाही अघि बढाउने बताएकी छन् ।
‘म डिभोर्स नभइसकेकी महिला हुँ,’ डी सिल्भाले लेखिन् । ‘सही विजेताले अर्की महिलाको ताज खोस्दिनन् ।’