
भारतको बेंगलुरुबाट दिल्ली गइरहेको एयर एसिया विमानको फ्लाइटमा २८ वर्षीय एक पुरुषले अचानक आफ्ना सबै कपडा खोलेका छन् । उनको त्यस्तो व्यवहार देखेर अन्य यात्रुहरू डरले चिच्याएका छन् ।
यो अनौठो घटना मंगलवार भएको हो दिल्ली विमानस्थलका अधिकारीहरूले बताए । विमान आकाशमै हुँदा फारुख नामक ती यात्रीले हतारहतार गरी आफ्ना सबै कपडा खोले । अन्य यात्रुले ध्यान दिनुअघि नै फारुख निर्वस्त्र भइसकेका थिए ।
आत्तिएका यात्रुहरूले तत्कालै इमर्जेन्सी बेल बजाए । कुनै अप्रत्याशित घटना नहोस् भनी पाइलटले दिल्ली एटीसीलाई पनि घटनाको सूचना दिए ।
पछि एयर होस्टेस र अन्य कर्मचारी मिलेर ती यात्रुलाई नियन्त्रणमा लिए अनि कपडा लगाइदिए ।
विमान दिल्लीमा ओर्लिएर ती यात्री बाहिर निस्केपछि विमानस्थलमै फेरि कपडा खोले । विमानस्थलको टर्मिनल ३ मा उनी सम्पूर्ण यात्रुका अगाडि निर्वस्त्र भए । विमानस्थल अधिकारीहरूका अनुसार, ती यात्रीको यस्तो व्यवहारले
उनलाई नो फ्लाई लिस्टमा राख्न सक्ने सम्भावना रहन्छ ।
घटनाको सूचना सीआईएसएफ र दिल्ली प्रहरीलाई दिइयो । दिल्ली प्रहरीले उनलाई पक्राउ गरेको छ ।
फारूख कश्मीरी भएको र बेंगलुरुको एक आईटी कम्पनीमा काम गर्ने बताइएको छ । उनका परिवारका मानिससँग कुरा गरेर उनको मानसिक सन्तुलनका बारेमा पत्ता लगाउने कोशिश प्रहरीले गरेको छ ।