
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने मुख्य २ नाकामा कोरोना संक्रमणको जोखिम घटाउन चेकजाँचमा कडाइ गर्नुपर्ने बताइरहे पनि अवस्था भने ठीक विपरीत देखिएको छ ।
आइतवार अपराह्न काठमाडौं भित्रिने पश्चिमी नाका नागढुंगा र पूर्वी नाका साँगा भञ्ज्याङमा कुनैपनि सुरक्षा सावधानी, चेकजाँच भएको देखिएन ।
सवारी साधनमा रहेका यात्रु तथा कर्मचारी स्वयंले पनि सुरक्षाको उपाय/सावधानी अपनाएको देखिएन । तैनाथ सुरक्षाकर्मीले सवारी साधनको लगत लिने बाहेक अन्य कुनै सर्तकता अपनाएको देखिएन ।
यी दृश्यले काठमाडौं उपत्यकामा संक्रमणको जोखिमलाई बढाएको छ । मास्क लगाउने, दुरी कायम गर्ने कुनै पनि सुरक्षा सावधानीको उपायको न्युनतम रूपमा पनि प्रयोग भएको छैन ।
यात्रुहरू विना मास्क कुनै भौतिक दुरी कायम नगरी जोखिमपूर्ण रूपमा उपत्यका प्रवेश गरिरहेका छन् । यता, काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।