०४ असार २०८३, बिहीबार

कोरोनाको दोस्रो लहर, बढी सचेतना जरुरी

चैत ३०, २०७७
कोरोनाको दोस्रो लहर, बढी सचेतना जरुरी
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरसँगै सङ्क्रमण दरले पुनः गति लिन थालेको छ ।

दैनिक ४८ जनासम्म ओरालो झरेको सङ्क्रमणपछि पछिल्लो एक सातामा कोरोनाले गम्भीर बिरामी हुनेको सङ्ख्या बढ्न थालेको छ । केही दिनयता सङ्क्रमितको सङ्ख्या तीन सयभन्दा बढी देखिएको छ । विज्ञहरूले कोरोनाबाट जोगिन अझ बढी सचेत हुनुपर्ने बताउन थालेको छन् ।

भारतमा पछिल्ला दिनमा दैनिक एक लाख ५० हजारभन्दा बढी सङ्क्रमित हुँदा एक हजारको हाराहारीमा मृत्यु भइरहेको छ । नेपालमा पनि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुले खतराको सङ्केत गरेको चिकित्सकहरूको भनाइ छ ।

नेपालमा पछिल्ला दिनमा सङ्क्रमण सङ्ख्या विस्तारै उकालो लाग्दै गएको छ । दैनिक सङ्क्रमण मात्रै होइन; सक्रिय सङ्क्रमित, आईसीयूमा भएका बिरामी र भेन्टिलेटरमा रहेका बिरामीको सङ्ख्या पनि बढेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर थपिएका नयाँ सङ्क्रमितको सङ्ख्या ३६७ पुगेको जानकारी दिए ।

यसअघि शनिबार ३६३ जना सङ्क्रमित थपिएका थिए । मन्त्रालयका अनुसार देशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ९६१ जना पुगेको छ । केही दिनअघि मात्र सक्रिय सङ्क्रमितको सङ्ख्या सात सयमा झरेको थियो । गत बुधबार सक्रिय सङ्क्रमित दुई हजार २०१ पुगेका थिए ।

डा. गौतमले नेपालमा सङ्क्रमितको सङ्ख्या मात्रै नथपिएको भन्दै गम्भीर प्रकृतिका बिरामी पनि बढ्दो क्रममा रहेको जानकारी दिए । एक साताअघि कोरोना सङ्क्रमणले गम्भीर अवस्थामा पुगेका ४७ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा रहेकामा सो सङ्ख्या बढेर आईसीयूमा पुग्ने सङ्क्रमितको सङ्ख्या ६५ र भेन्टिलेटरमा जानेको सङ्ख्या १३ पुगेको थियो । आइतबारको तथ्याङ्कअनुसार आईसीयूमा ८९ र भेन्टिलेटरमा १५ जना छन् ।

नेपालमा दोस्रो चरणको नयाँ भेरियन्ट आएको र युवा पुस्तालाई समेत गाह्रो पार्न थालेकाले पनि कोरोनाले थप चिन्ता बढाएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ । टेकु अस्पतालका चिकित्सक डा. पुनका अनुसार थोरै लापरबाहीले मुलुकको भविष्य गम्भीर अवस्थामा पुग्न सक्ने बताए ।

उनले कोरोना सङ्क्रमण नियन्त्रणमा आउन लाग्यो भनिरहेका बेला पुनः उचाइ लिन थालेकाले सचेत हुन आग्रह गरे ।

पछिल्लो एक साताकै तथ्याङ्क हेर्ने हो भने कोरोनाकै कारण गम्भीर बिरामी हुनेको सङ्ख्या विस्तारै बढेको उनको भनाइ छ । दैनिक सङ्क्रमणसँगै सक्रिय सङ्क्रमित, आईसीयूमा भएका बिरामी र भेन्टिलेटरमा रहेका बिरामीको सङ्ख्या पनि बढ्दो क्रममा देखिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले देशमा सङ्क्रमित मात्रै थपिएका होइनन्, अहिले गम्भीर प्रकृतिका बिरामी पनि बढ्दो क्रममा रहनु दुःखद भएको बताए ।

उनले एक साताअघि कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेका ४७ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा रहेकामा तीन दिनपछि नै सो सङ्ख्या बढेर आईसीयूमा पुग्ने सङ्क्रमितको सङ्ख्या ६५ र भेन्टिलेटरमा जानेको सङ्ख्या १३ पुगेको बताए । आइतबारसम्म आउँदा आईसीयूमा जानेको सङ्ख्या ८९ जना र भेन्टिलेटरमा पुग्नेको सङ्ख्या १५ पुगेको छ ।

सङ्क्रमण दर र गम्भीर बिरामी हुने दर विस्तारै बढ्दै गएको भन्दै उनले अब सचेत नबन्दा अवस्था झनै जटिल हुने बताए । मास्क लगाउने, भीडभाडमा नजाने, हात बेलाबेलामा धुने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी अपनाउने हो भने पनि कोरोनाबाट बच्न सकिने उनको भनाइ छ ।

प्रवक्ता डा. गौतमले महामारीका बेला स्वास्थ्य मन्त्रालयले भनेको विषयलाई मान्न आग्रह गरे । यस्तै अवस्था रहे केही सातामै कोरोनाले महामारीको रूप लिनसक्ने उनको भनाइ छ । सरोज ढुङ्गेलले गोरखापत्र दैनिकमा खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्