कोरोनाभाइरसको चपेटामा परेको फिलिपिन्समा मानिसहरू घोडालाई खुवाइने औषधिलाई कोरोनाको औषधि भन्दै खाइरहेका छन् ।
तर मानिसलाई यो औषधि खाने स्वीकृति दिइएको छैन ।
फिलिपिन्स कोरोना खोपको कमी खेपिरहेको छ र महामारीका कारण मानिसहरूमा सरकारप्रति विश्वास पनि घटेको छ । अनि अस्पतालहरूमा रोगीको संख्या पनि बढ्दै गएको छ ।
तनावमा रहेका मान्छे साइड इफेक्टको चिन्ता नगरिकन इभेरमेक्टिन नामक औषधि खाइरहेका छन् ।
यो औषधि घोडाहरूलाई खुवाउने गरिन्छ । मार्च महिनामा यस औषधिलाई फिलिपिन्समा यसअघिभन्दा ७०० गुणा बढी खोजिएको थियो ।
देशका केही नेता र सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्वहरू पनि यस औषधिलाई कोरोनाको उपचारका रूपमा प्रवर्द्धन गरिरहेका छन् । तर स्वास्थ्यविद्हरू यस औषधिबाट कुनै लाभ नहुने बताइरहेका छन् ।
यो औषधि मानिसहरूले उपयोग गर्ने भनी दर्ता गरिएको छैन । अर्थात् मानिसका लागि यो औषधि बेच्नु गैरकानूनी हो ।
इभरमेक्टिन औषधिका फरक फरक संस्करण छन् । अमेरिकामा यस औषधिको एक संस्करण मानिसहरूको उपचारका लागि स्वीकृति दिइएको छ, तर ट्रपिकल डिजीज र लिखा मार्नका लागि । कोरोनाका लागि त यो औषधि हुँदै हैन ।