२५ जेठ २०८३, सोमबार

भारतमा कोरोना फैलिएपछि नेपाल फर्किनेको लर्को, नाकामा छैन पर्याप्त सुरक्षा सावधानी !

चैत ३०, २०७७
भारतमा कोरोना फैलिएपछि नेपाल फर्किनेको लर्को, नाकामा छैन पर्याप्त सुरक्षा सावधानी !

गत वर्षकै झल्को दिने गरी नेपाल–भारत सीमा नाकामा भीडभाड देखिन थालेको छ ।

रोजगारीका लागि भारत गएका नेपालीहरू त्यहाँ कोरोना कहर बढ्दै गएपछि अहिले लुम्बिनी प्रदेशका विभिन्न नाका हुँदै नेपाल फर्किन थालेका छन् । 

चैत २५ यता रूपन्देहीको बेलहिया (सुनौली), कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा, रूपैडिया, पश्चिम नवलपरासीको महेशपुर नाका हुँदै नेपाल फर्किनेको लर्को लाग्न थालेको हो । नयाँ वर्ष र चैते दशैँ मनाउन पनि नेपाली घर फर्किँदै छन् । नाकामा ज्वरो मापनमै कडाइ गरिएको छैन । यसले फेरि नेपालमा कोरोना संकट आउन सक्ने चिन्ता बढेको छ । सीमा नाकामा संक्रमण रोकथाम र नियन्त्रणका लागि सावधानीका कुनै संयन्त्र छैनन् । 

लुम्बिनी प्रदेशसँगका तराईका जिल्लासँग जोडिएको भारतको उत्तर प्रदेशमा कोरोना (कोभिड– १९)को अवस्था भयावह छ । भारतको उच्च जोखिम भएको ठाउँबाट नेपाल प्रवेश गर्नेबाट संक्रमण तीव्र रूपमा फैलिन सक्ने जोखिम बढेको पाइएको छ भने लुम्बिनी प्रदेशका रुपन्देही, बाँके र कपिलवस्तुमा कोरोनाको ग्राफ उकालो लागेको छ ।

रूपन्देहीमा फेरि प्रत्येक दिन दुई दर्जनभन्दा बढी संक्रमित बिरामी थपिएर अस्पतालमा भर्ना हुनुपर्ने अवस्थामा पुग्न थालेका छन् । अहिले देखिएको कोरोनाको ‘भेरिएन्ट’ ले बालबालिकालाई समेत असर गर्ने बताइएपछि त्यसको असर विद्यालयमा पर्ने देखिन्छ । 

इलाका प्रहरी कार्यालय बेलहिया (सुनौली) का प्रहरी निरीक्षक (इन्स्पेक्टर) ईश्वरी अधिकारीले पछिल्लो हप्ता भारतबाट फर्किने नेपालीको संख्या ह्वात्तै बढेको बताए ।

अधिकारीका अनुसार तीन हप्ता अगाडिसम्म दैनिक २ सय नेपाली नाकाबाट नेपाल भित्रिने गरेपनि अहिले दैनिक ५ सयसम्म घर फर्किन थालेका छन् ।

‘नाकामा ज्वरो र शंका लागेका बिरामीको एन्टिजेन पनि परीक्षण गरिन्छ,’ अधिकारीले लोकान्तरसँग भने, ‘ज्वरो आएकाहरूलाई पनि नाकामा आइपुगेपछि रोक्न मिलेन नाप्ने, ठेगाना टिप्ने र नेपाल प्रवेश दिने गरेका छौं ।’ 

अहिले स्वास्थ्य मापदण्ड शहरी क्षेत्रमा समेत पालना भएको छैन । संक्रमण रुपन्देहीका विद्यालयहरूमा पनि देखिएको छ ।

तोकिएको स्वाथ्य मापदण्ड पालना नगरेर संक्रमण बढ्दै गए फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने चिन्ता व्यक्त भइरहेको छ । 

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जिल्लामा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन गरिएको बताए ।

उनले कपिलवस्तुको सीमा कृष्णनगरमा हेल्थ डेक्स राखेर नेपाल भित्रिनेको ज्वरो परीक्षण गरेर मात्र प्रवेश दिइएको लोकान्तरलाई बताए ।

‘सर्वसाधारणलाई मास्क अनिवार्य गराउन पालिकाहरूलाई आग्रह गरेका छौं । गत वर्ष जस्तो अहिले मानिस कोरोनाप्रति डराएको देखिँदैन । हामी केन्द्रको निर्देशन अनुसार नै अगाडि बढ्छौं ।’ 

गएको वर्ष रुपन्देही र बाँकेमा वैशाख १९ गते भारतबाट फर्किएका दुई जनामा एकसाथ कोरोना संक्रमण देखिएको थियो । त्यसपछि लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र बाँके कोरोनाको हटस्पट बनेका थिए । 

कात्तिकपछि संक्रमण विस्तारै घट्दै गएर शून्यमा झरेका यी जिल्लामा तीन दिनअगाडि बाँकेमा भारतबाट फर्किएका १० जनामा संक्रमण देखिएको छ । 

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले संक्रमित अस्पतालमा भर्ना हुने क्रम बढेको बताए । 

केही समय अगाडिसम्म अस्पतालमा बिरामी भर्ना गर्नुपर्ने अवस्था थिएन । अहिले अस्पतालको आईसीयूमै कोरोनाका तीनजना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

ज्वरो आएर अस्पताल आउनेलाई अस्पतालले छुट्टै फिवर क्लिनिक बनाएर पीसीआर जाँच गर्ने गरेको छ । जटिल अवस्थाका बिरामीलाई धागो कारखानामा बनाइएको कोभिड अस्पतालको आईसीयूमा भर्ना गर्ने गरिएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले भीडभाड हुने क्षेत्रमा अब सचेतना नअपनाइए पुरानै अवस्था आउन सक्ने बताए ।

‘अहिले आरटी पीसीआर सिक्टोमिटिकको मात्र गरिन्छ । योङ पपुलेसनमा संक्रमण अहिले बढी देखिएको छ,’ डा गिरीले भने । 

 

salt training

कमेन्ट गर्नुहोस्