१५ असार २०८३, सोमबार

प्रधानमन्त्रीलाई प्रदीप गिरीको आग्रह– कृपया पुन: संसद् विघटन नगरिदिनुस् !

प्रधानमन्त्रीलाई प्रदीप गिरीको आग्रह– कृपया पुन: संसद् विघटन नगरिदिनुस् !
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले दोस्रोपटक पनि संसद् भंग गर्ने बाटोमा अघि नबढ्न प्रधानमन्त्रीको  ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकको विशेष समयमा बोल्दै गिरीले सकुनीले जसरी दोस्रोपटक पासा फाल्ने काम नगर्न प्रधामन्त्रीलाई आग्रह गरेका हुन् ।

उनले सकुनीले जस्तो दोस्रोपटक पासा फ्याँकेर संसद् विघटन गर्ने दिशामा अघि नबढ्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

गिरीले संसद्लाई पूरा कार्यकाल काम गर्न दिने अवस्था सिर्जना गर्न आग्रह गरे ।

उनले राष्ट्रिय नीतिलाई आफ्नो तजबिजको कुरा नमानिकन संसद्का प्रत्येक पार्टीले उठाएका र  नागरिक समाजले उठाएका ज्वलन्त सबाललाई सम्बोधन गरी नयाँ उचाई प्राप्त गर्न पनि सुझाव दिए ।

गिरीले भने- 'जालझेल गरेर सकुनीले पासा फ्याँके जस्तो गरेर दुबारा पासा फ्याँकेर, सकुनीले दुईपटक पासा फ्याकेका थिए । एकपटकको पासालाई द्रौपतिको प्रतिउत्तर निरस्त्र गरेको थियो । दुबारा पासा फ्याँकेर फेरि पाण्डवलाई जंगल पठाए जस्तो संसद् विघटन गर्ने दिशामा कृपया नगइदिनोस्  ।'

व्यवस्था र व्यक्ति फरक कुरा भएको भन्दै व्यवस्थामा भएका त्रुटिलाई व्यक्तिले सही नियतका साथ परिष्कार र परिमार्जन गर्नुपर्नेमा प्रधानमन्त्रीले संसद् नै भंग गरेको टिप्पणी गरे ।

उनले भने, 'म मेरै गोरुको बाह्रै टक्का भन्ने पक्षमा छैन तर मलाई शंका छ, हाम्रा शीर्षस्थ मानिस, मुलुकका सबैभन्दा प्रभावशाली मानिस, मुलुकको सबैभन्दा बलियो मानिस, (प्रधानमन्त्री भन्न चाहन्न) भन्दै हुनुहुन्छ कि मै ठीक छु, मेरा कुरा सबै तिमीहरूले मान ।'

शनिवार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद्को अंकगणितलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न खोजिए 'सकुनीका गोटी' फ्याँकिने बताएका थिए ।

उनले भनेका थिए, 'संसद्को अंंकगणितलाई वरपर पार्न खोज्ने खालका सकुनीका गोटी पनि फ्याकिने छन् । गोटी नै फ्याँक्दिएपछि सकुनीले के लडाउँछ ?'

सभामुखलाई समेत विश्वासमा लिन नसकेको भन्दै सांसद गिरीले विभिन्न समयमा र परिस्थितिका राजनीतिक असन्तुष्टिहरू थपिँदै आएर चरम राजनीतिक संकटको रूपमा देखापरेको टिप्पणी गरे ।

चुनावमा नै जाने हो भने पनि त्यसका लागि राष्ट्रिय सहमतिको चुनावी सरकार बनाउनुपर्ने उनको सुझाव छ ।

salt training

कमेन्ट गर्नुहोस्