
भारतको उत्तर प्रदेशस्थित सिद्धार्थनगर जिल्लाको पञ्चायत चुनावमा नेपालको कुखुराको माग बढेको छ ।
कोरोना संक्रमणका कारण दुई देशबीचको सीमा सील गरिएको भए पनि उम्मेदवारहरूले मतदातालाई लोभ्याउनका लागि नेपाली कुखुरा तस्करी गराइरहेका छन् । पहाडी क्षेत्रमा पालिने कुखुरा अन्य कुखुराको तुलनामा चार गुणा महंगा हुन्छन् ।
बढनी सीमाबाट ५५ किलोमिटर परे दाङको भालुवान र वरपरका क्षेत्रबाट कुखुरा मगाइएको छ । तस्करहरूले कुखुरा लाँदा बढी मूल्य पर्ने गरेको छ । खर्च धेरै भए पनि कुखुरा चाहिनेहरूले नेपालीलाई सम्पर्क गरिरहेका छन् ।
यी कुखुराहरू ५ हजार भारुसम्ममा बिकिरहेको धर्मबहादुर क्षेत्रीले बताए ।
नौगढका पसले अफजलका अनुसार, पञ्चायत चुनावमा उम्मेदवारहरू कुखुरा किनेर मतदातालाई खुवाइरहेका छन् ।