
झण्डै २ वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ ।
सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको सम्झौता कार्यसूचीमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले चासो दिएका हुन् ।
प्रधानमन्त्री ओलीले कार्यव्यवस्था परामर्श समितिमा सरकार प्रतिनिधि कानून, न्याय तथा संसदीय मामिला मन्त्रीलाई कार्यसूचीमा अगाडि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनअनुसार कार्यसूचीबारे सभामुखसँग परामर्श गर्ने कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।
पछिल्ला केही दिनयता प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा एमालेका सांसद खगराज अधिकारीले समेत एमसीसी अगाडि नबढाइएको भन्दै असन्तुष्टि जनाएका थिए । सार्वजनिक मञ्चमा प्रधानमन्त्री तथा सदनमा परराष्ट्रमन्त्री तथा सांसदहरूले उक्त विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् ।
मन्त्री श्रेष्ठले कार्यसूचीबारे सभामुखसँग परामर्श गर्न आफूलाई प्रधानमन्त्रीको निर्देशन प्राप्त रहेको जानकारी दिए । बिहीवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकपछि बाहिरिने क्रममा मन्त्री श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले अगाडि बढाउने विषय चासो राख्नुभएको छ । उहाँले अगाडि बढाउन भन्नुभएको छ । प्रधानमन्त्रीको निर्देशनबमोजिम म सभामुखसँग कुरा गर्नेछु ।’
संसद्को बिजनेस तय गर्ने कार्यव्यवस्था परामर्श समितिमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सदस्य हुने व्यवस्था छ । सरकारका तर्फबाट हुने बिजनेसको प्राथमिकता कानून मन्त्रीसँगको परामर्शमा अगाडि बढ्ने संसदीय परम्परा छ ।
यसअघि सदनलाई सरकारले बिजनेस नदिएको आरोप खण्डन गर्दै केही दिनअघि परराष्ट्रमन्त्री ज्ञवालीले विचाराधीन सन्धि सदनले नै अगाडि नबढाएको जवाफ दिएका थिए । उनले एमसीसी लगायतका सन्धि लामो समयदेखि विचाराधीन रहेका पनि उल्लेख गरेका थिए ।
सरकारले बिजनेस नदिएको भन्दा सदनले सरकारका बिजनेस अगाडि नबढाएको जवाफ ज्ञवालीले प्रतिनिधि सभामा दिएका थिए । एमाले सांसद खगराज अधिकारीले समेत सन्धिबारे चाँडो टुंगो लगाउन सभामुखको ध्यानाकर्षण गराएका थिए ।
पछिल्लो समय प्रधानमन्त्री तथा सत्तारूढ दलका नेताहरू एमसीसीको प्रक्रिया चाँडो अगाडि बढाउने पक्षमा देखिएका छन् । राजनीतिक स्रोतहरूका अनुसार प्रमुख विपक्षी दल नेपाली कांग्रेस पनि सम्झौता छिटो टुंग्याउनुपर्नेमा पछिल्लो समय अग्रसर छ ।
कांग्रेसले यसअघि पनि एमसीसी चाँडो टुंगोमा पुर्याउन माग गर्दै आइरहेको थियो । नेपालको सडक पूर्वाधारको स्तरोन्नति र विद्युत् प्रसारण लाइनमा लगानी गर्ने गरी करीब ४६ करोड अमेरिकी डलरको सम्झौता सन् २०१७ मा भएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।